कास्कीको प्रहरी कार्यालय तोडफोडमा संलग्न १८ जना पक्राउ
कास्की । जिल्ला प्रहरी कार्यालय कास्की तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ २४ गते भएको प्रहरी कार्यालय तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न १८ जनालाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरीले आज पत्रकार सम्मेलन गर्दै हालसम्म १८ जनालाई पक्राउ गरिएको जनाएको हो ।
पक्राउ परेकामध्ये १० जनालाई जिल्ला अदालत कास्कीबाट आपराधिक उपद्रव सम्बन्धी कसुरमा ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरि बस्नेतले जानकारी दिनुभयो । ती १० जना कास्की प्रहरी कार्यालय तोडफोड तथा आगजनीमा संलग्न हुनेहरू छन् ।
उहाँका अनुसार पक्राउ परेका ८ जना धरौटीमा रिहा भएका छन् । धरौटीमा रिहा हुनेमा जिल्ला प्रहरी कार्यालय कास्कीमा गई प्रहरीको पोसाक दुरुपयोग गर्ने र हुल हुज्जत गर्ने रहेको डिएसपी बस्नेतले उल्लेख गर्नुभयो । उनीहरूमध्ये ६ जना २ हजार र अन्य २ जना ३ हजार धरौटीमा रिहा भएका हुन् ।
जेन–जी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका ७७३ कैदीबन्दीमध्ये हालसम्म ५२० जना पक्राउ परेका छन् ।







प्रतिक्रिया राख्नुहोस्