झापामा छठ पूजाको तयारी पूरा
भद्रपुर, झापा। झापामा यस वर्षको छठ पूजाको तयारी पूरा भएको छ ।

जिल्लाको मेचीलगायत निन्दा, हँडिया, देउनिया, बिरिङ, कनकाई, रतुवा, अन्धुवा नदी किनारमा मण्डप निर्माण गरिसकिएको छ भने सुरक्षाका सबै तयारी पनि पूरा भएको बताइएको छ ।
कोशी प्रदेशको सर्वाधिक जनसहभागिता रहने छठ पूजास्थलको पहिचान बनाएको भद्रपुरस्थित मेची नदीमा भव्य रूपमा छठ पूजा सम्पन्न गर्नका लागि तयारी पूरा भएको मैथिल समाज झापाले जनाएको छ ।
तराइवासीको महत्त्वपूर्ण पर्व मानिए पनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी, मारवाडी, बङ्गाली लगायत यहाँ रहेका सबै जातजातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी रूपमा छठ पूजा गर्ने गरिएको छ ।
नेपाल–भारतको सीमावर्ती क्षेत्रमा पर्ने झापा सदरमुकाम भद्रपुरस्थित मेची नदीमा मनाउँदै आएको छठ पर्वमा ३ हजार बढी पूजा स्थल निर्माण गरी करिब ३ किलोमिटर क्षेत्रमा नदीको वारिपारि दुबैपट्टि पूजा गर्ने गरी व्यवस्थापन गरिएको मैथिल समाज झापाका सचिव सुशील कर्णले जानकारी दिनु भयो ।
पूजास्थलको सुरक्षाका लागि नेपाल–भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्ने छन् भने विभिन्न सामाजिक सङ्घ–संस्थाले मेलामा सहभागी भक्तजनका लागि निःशुल्क पानी तथा चियाको व्यवस्था गर्नेछन् ।
यो पर्वमा जनसहभागिताको हिसाबले नेपालको जनकपुरपछिको दोस्रो स्थान भद्रपुरले लिने गरेको मैथिल समाजका अगुवा विकास गुप्ताले बताउनुभयो । यहाँ बर्सेनि भक्तजनको सङ्ख्या बढ्दै केही वर्षयता एक लाखसम्म पुग्न थालेको उहाँले बताउनुभयो ।
आज साँझ अस्ताउँदो र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पूजा सम्पन्न हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्