तपाईँ सुन्दै हुनुहुन्छः

अर्थमन्त्रीद्वारा सिङ्गापुरका राष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडौँ ।  विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आज सिङ्गापुरका राष्ट्रपति थार्मान शनमुगारात्नमसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

उक्त भेटमा राष्ट्रपति थार्मानले देशको तीव्र आर्थिक विकासमा  मानवपुँजी, पूर्वाधार,  ऊर्जा,  व्यापार र खुलापनमा लगानी केन्द्रित गर्न अर्थमन्त्रीलाई सुझाव दिनुभएको अर्थमन्त्री खनालको सचिवालयले जनाएको छ । 

त्यस क्रममा अर्थमन्त्री खनालले नेपाल सरकारले युवाको चाहनाअनुरूप सुशासन कायम गरी आर्थिक विकासमा केन्द्रित हुने लक्ष्यका साथ काम गरिरहेको बताउनुभयो । 

उहाँले आजै अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्षसहितका अधिकारीसँग पनि अन्तरक्रिया गर्नुभएको छ । त्यस अवसरमा अर्थमन्त्री खनालले अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा लगानी बढाउँदै लगेकोमा धन्यवाद दिनुभयो । उहाँले नेपालमा निजी क्षेत्रको विकास र प्रतिस्पर्धात्मक क्षमता विकासमा निगमको  थप लगानी र प्राविधिक सहयोगको अपेक्षा गर्नुभयो । 

अन्तर्राष्ट्रिय वित्त निगमका अधिकारीहरूले नेपालमा निगमको लगानी वृद्धि गरिने जानकारी दिँदै अन्तर्राष्ट्रिय पुँजीको आप्रवाह बढाउन केही कानुनी र नियामकीय प्रबन्धमा सुधारको खाँचो रहेको बताएको जनाइएको छ । प्रतिउत्तरमा मन्त्री खनालले नियामकीय प्रबन्धमा तत्काल सुधार गर्ने प्रतिबद्धता जनाउँदै कानुनी सुधारका लागि आवश्यक तयारी गरिने विश्वास दिलाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button