नरैनापुरको नागरिक आरोग्य सेवा केन्द्र बाँकेमा उत्कृष्ट
बाँके। बाँके जिल्लाभित्र स्थानीय तहमार्फत सञ्चालित आयुर्वेद स्वास्थ्य सेवामध्ये नरैनापुर गाउँपालिकाको नागरिक आरोग्य सेवा केन्द्र आर्थिक वर्ष २०८१/०८२ का लागि उत्कृष्ट घोषित भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको बाँके आयुर्वेद स्वास्थ्य केन्द्र, नेपालगञ्जले तयार पारेको वार्षिक प्रतिवेदन मूल्यांकनका आधारमा भएको प्रतिस्पर्धात्मक मूल्याङ्कनमा उक्त केन्द्रले उत्कृष्ट सेवा प्रवाह, कार्यदक्षता र जनमैत्री व्यवहारका कारण पहिलो स्थान हासिल गरेको हो।
बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले नागरिक आरोग्य सेवा केन्द्र, नरैनापुरलाई सम्मानपत्र प्रदान गर्दै निरन्तर प्रगतिका लागि शुभकामना जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डा. अलोक कुमार पाण्डेले उत्कृष्ट सेवा र समर्पणका लागि केन्द्रका स्वास्थ्यकर्मीलाई बधाई दिँदै सेवाको गुणस्तर र कार्यदक्षता अझ उन्नत बनाउन आग्रह गर्नुभयो।
त्यसैगरी, पुरस्कार वितरणका क्रममा प्रदेशका पूर्वमन्त्री भण्डारी लाल यादवले आयुर्वेद सेवाको प्रभावकारिता बढाउन यस्ता प्रतिस्पर्धा र सम्मानले स्वास्थ्यकर्मीमा उत्साह र प्रेरणा जगाउने विश्वास व्यक्त गर्नुभयो।
स्थानीय तहमा सेवा प्रवाहको उत्कृष्ट उदाहरण स्थापित गरेको केन्द्रले यो सम्मानलाई आगामी दिनमा जनसेवामा थप समर्पण र प्रेरणाको स्रोतका रूपमा लिने जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्