नेपालका महिला स्वयंसेविकालाई ‘जनस्वास्थ्य च्याम्पियन’ अवार्ड

काठमाडौँ । नेपालका महिला स्वास्थ्य स्वयंसेविकालाई ‘जनस्वास्थ्य च्याम्पियन अवार्ड’ प्रदान गरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयसस र डब्लुएचओको दक्षिण–पूर्वी एसियाका कार्यवाहक प्रमुख डा क्याथरिना बोहमले श्रीलङ्काका लागि नेपाली राजदूत डा पूर्णबहादुर नेपालीलाई मङ्गलवार श्रीलङ्कामा आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गर्नुभएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीका अनुसार कोलम्बोमा भइरहेको विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७८औँ बैठकमा उक्त अवार्ड प्रदान गरिएको थियो ।
नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका लागि डब्लुचओको दक्षिण–पूर्वी एसिया क्षेत्रले उक्त जनस्वास्थ्य च्याम्पियन अवार्ड नेपालका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिएको जनाइएको छ ।
सो सम्मानले नेपालका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य सेवा पहुँच र जनस्वास्थ्य सुधारमा पुर्याएको योगदानको उच्च कदर गरेको सूचना अधिकारी केसीको भनाइ छ । रासस
प्रतिक्रिया राख्नुहोस्