तलब-भत्ता नपाएपछि फतुवा विजयपुरका सामुदायिक शिक्षक आन्दोलनमा
रौतहट । तलब भत्ता पाउनुपर्ने माग गर्दै रौतहटको फतुवा विजयपुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरू आन्दोलित हुनुभएको छ ।

विजयादशमीको समयमा समेत तलव नपाएको र अब दीपावली तथा छठ पर्व आउन लागेको भए पनि फतुवा विजयपुर नगरपालिकाले अझै तलब निकासा गर्न कुनै पहल नगरेको भन्दै शिक्षक शिक्षिकाहरूले नगरपालिकामा सामूहिक रुपमा पुगेर आइतबार ज्ञापनपत्र बुझाउनुभएको हो ।
दसैँमा समेत तलव नपाएको गुनासो गर्दै शिक्षक शिक्षिकाहरूले छठ पर्व भित्रमा तल भत्ता पाउनुपर्ने माग राख्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवलाई ज्ञापनपत्र बुझाउनुभएको छ ।
शिक्षकहरूले दुई दिन भित्रमा तलब उपलब्ध नगराए असोज २९ गतेदेखि अनिश्चितकालीन रूपमा विद्यालय बन्द गरी आन्दोलनमा उत्रने चेतावनी समेत दिनुभएको छ ।
२०८२ साउनदेखि हालसम्म फतुवा विजयपुर नगरपालिकाअन्तर्गत कार्यरत करिब तीन सय जना सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीहरूले तल भत्ता पाउन नसकेको जनाइएको छ ।
बडादसैँ जस्तो ठूलो पर्वमा समेत तल भत्ता नपाउँदा शिक्षकहरू ठूलो आर्थिक सङ्कटमा पर्नुभएको छ । “अब दीपावली र छठ आउन लाग्दा पनि कुनै सङ्केत देखिएको छैन, बाध्य भएर हामीले ज्ञापनपत्र बुझाएका हौँ,” हिमाली जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक बुनिलाल यादवले बताउनुभयो ।
यादवका अनुसार दसैँजस्तो पर्वमा समेत तल भत्ता दिन नसक्दा शिक्षकहरूको दैनिकी नै प्रभावित भएको छ । उहाँले समयमै तलब निकासा नगर्दा शिक्षकहरू परिवार पाल्न पनि कठिन भएको बताउनुभयो ।
उक्त ज्ञापनपत्रमा उल्लेख भएअनुसार, यदि पर्सी असोज २८ गतेसम्म नगरपालिकाले शिक्षक /शिक्षिकाहरूको खातामा तलब नपठाएमा असोज २९ गतेदेखि नगरका सम्पूर्ण सामुदायिक विद्यालयहरू अनिश्चितकालीन रुपमा बन्द गरिने चेतावनी दिनु भएको छ ।
सरस्वती प्राथमिक विद्यालयका शिक्षक सुबोध यादवले भन्नुभयो, “हामी शिक्षा प्रणालीलाई बन्द गर्न चाहँदैनौँ, तर जब शिक्षक आफैँ आर्थिक पीडामा हुन्छन् भने कक्षा कोठामा ध्यान केन्द्रित गर्न सक्दैनन् ।”
यदि माग पूरा भएन भने असोज २९ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द, प्रदर्शन तथा धर्ना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको जनाइएको छ ।
यता ज्ञापनपत्र बुझ्दै फतुवा विजयपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले शिक्षक कर्मचारीहरूलाई तल भत्ता तुरुन्त उपलब्ध गराउन आफू हरसम्भव प्रयासरत रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरपालिकाको खाता नै नखुलेका कारण शिक्षकसहित अन्य कर्मचारीहरूलाई पनि तलब भत्ता वितरण गर्न समस्या भएको हो ।
प्रशासकीय अधिकृत यादवले भन्नुभयो, “कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले खाता सञ्चालनका लागि आवश्यक अख्तियारी दिन ढिलाइ गर्नुभएकोले कोष तथा लेखा नियन्त्रण कार्यालयले हालसम्म खाता खोल्न अनुमति दिएको छैन ।” अख्तियारी दिने बित्तिकै खाता सञ्चालन हुनेछ र खाता सञ्चालन हुनेबित्तिकै शिक्षक तथा कर्मचारीहरूलाई तल भत्ता तुरुन्त उपलब्ध गराइनेछ,” यादवले बताउनुभयो ।
शिक्षकहरूको सम्भावित आन्दोलनका कारण नगरपालिकाभित्रका हजारौँ विद्यार्थीको पढाइमा असर पर्ने देखिएको छ । तसर्थ, सम्बन्धित निकायले समस्या समाधानका लागि तत्काल पहल गर्न आवश्यक देखिन्छ ।








प्रतिक्रिया राख्नुहोस्