तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले असोज २८ गते विश्वासको मत लिनुहुने

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह आगामी असोज २८ गते मङ्गलवार विश्वासको मत लिन लाग्नुभएको छ । मुख्यमन्त्रीले प्रदेशसभा सचिवालयलाई सोही दिन व्यवस्था मिलाइदिन पत्र पठाउनुभएको छ।

मुख्यमन्त्री सिंहले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि असोज २८ गते (मङ्गलवार) व्यवस्था मिलाई दिन पत्र पठाउनुभएको छ ।  

१०७ सदस्यीय मधेस प्रदेशसभामा हाल १०५ जना सदस्य कायम रहेका छन् । 

मुख्यमन्त्री सिंहसँग अहिले लोकतान्त्रिक समाजवादी पार्टीको मात्र समर्थन रहेको छ । उहाँले प्रतिनिधित्व गर्ने जनमत पार्टीले पनि समर्थन फिर्ता लिएकाले संसदीय दलले ह्विप जारी गरेको अवस्थामा उहाँले आफ्नो पक्षमा मतदान गर्न पाउने छन् वा छैन त्यो हेर्न बाँकी नै छ ।  

वर्तमान मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा रहेका नेकपा एमाले र नेपाली काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँले प्रदेश सभाबाट विश्वासको मत लिन लानुभएको हो । 

मधेस प्रदेशमा नेकपा एमालेका एक निलम्बन सहित २५, नेपाली काँग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका एक निलम्बित सहित ९, नेकपा एकीकृत समाजवादी पार्टीका ७ तथा राप्रपा, नागरिक उन्मुक्ति पार्टी र सङ्घीय समाजवादी पार्टीका १÷१ जना प्रदेशसभा सदस्य हुनुहुन्छ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button