तपाईँ सुन्दै हुनुहुन्छः

दर्शनसँगै प्रकृतिसँग रमाउन सुपा देउराली आउने गर्छन् पर्यटक

अर्घाखाँची। अर्घाखाँचीको शितगंगा नगरपालिका र सन्धिखर्क नगरपालिकाको सिमानामा अवस्थित सुपा देउराली  मन्दिर दर्शन गर्ने भक्तजनको सदैव भिड लाग्ने गर्दछ ।

यो मन्दिर पूर्व पश्चिम राजमार्गको गोरुसिङ्गेबाट उत्तरतर्फ ४९ किलोमिटरको दुरीमा रहेको छ । मन्दिरको दुवैतर्फ अग्ला अग्ला सुन्दर पहाडहरू छन् ।

मन्दिर समुन्द्र सतहबाट ४ हजार ५ सय फिटको उचाइमा रहेको छ । प्राकृतिक सम्पदाले भरिपूर्ण यो मन्दिर प्यागोडा शैलीको निकै नै कलात्मक र आकर्षक रहेको छ । यस मन्दिरमा सुपा देउराली देवी  गणेश, नवदुर्गा महाकाली, महालक्ष्मी, शिव लगायत विभिन्न देव देवताहरूको मूर्तिहरू रहेका छन् ।

प्राचीन कालमा मनले चिताएको कुरा पुरा गर्न एक युवकले आफू लाहुरे हुन सुपा देउराली देवीलाई भाकल गरेको र मनोकामना पुरा भएपछि बिदामा घर फर्कँदा भाकल नचढाई देवीको बाटो छली भाग्न खोज्दा देवीले भाकल गर्ने युवालाई भिरमा टाँसिदिएको किम्बदन्ती रहेको छ ।

आस्थाको धरोहर सुपादेउराली मन्दिर, जहाँ पुगेपछि भक्तजनहरूको मन तृप्त हुन्छ ।
सुपा देउराली मन्दिर र वरिपरिको मनमोहक प्राकृतिक दृश्य अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा सो क्षेत्र पर्दै आएको छ । मन्दिर नजिकै लाहुरे गाँसिएको आकृति रहेको छ ,जुन लाहुरे टाँसिएको भिरको नामले निकै नै प्रसिद्ध रहेको छ ।

यस मन्दिरमा बलि दिने प्रथा भएता पनि औँसी, श्रीपंचमी, ऋषि पञ्चमी, कृष्ण जन्माष्टमी, एकादशी, राम नवमी र अक्षय तृतीयाका दिन बलि चढ्दैन । पर्यटकहरूले प्रकृतिको दृश्यावलोकन गर्नको लागि पहाडको उच्च भागमा २७२.८५ मिटर लामो झोलुगें पुल समेत रहेको छ ।

सुपा मन्दिरमा पूजाआजा गर्ने र करिब दुई किलोमिटरको दुरीमा रहेको नर्तनान्चल पर्वत शृङ्खलाको काख नरपानीमा रमाउँदै मनमोहक दृश्य हेर्नेको सदैव भिड लाग्ने गरेको देखिन्छ । हावा पानीको हिसाबले चिसो क्षेत्र,वातावरणीय हिसाबले शान्त र प्राकृतिक हिसाबले रमणीय क्षेत्र रहेकाले पनि सुपादेउराली आउने धार्मिक पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दै गएको पाउन सकिन्छ ।

सुपा देउराली पूजा गरेमा मनले चिताएको पुग्ने किंवदन्तीका कारणले पनि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको स्थानीयको भनाई रहेको छ । यस क्षेत्रमा दैनिक एक हजार भन्दा बढी पर्यटक आउने गरेका छन् ।

सो क्षेत्रमा मन्दिर दर्शन गर्न आउने तथा दृश्यावलोकन गर्न आएका पर्यटकका लागी बस्न तथा मनोरञ्जनका लागी निजी क्षेत्रबाट आवश्यक पूर्वाधार निर्माण भएकोले पनि यस क्षेत्रको महत्त्व बढ्दै गएको पाइन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button