रौतहटमा यात्रुवाहक बस दुर्घटना, यात्रुहरूको सकुशल उद्धार

वीरगञ्ज । रौतहटको गौर–चन्द्रपुर सडक खण्डअन्तर्गत गौर नगरपालिका–६, सपगढा लचकामा आज यात्रुवाहक बस दुर्घटना भएको छ ।
गौरबाट चन्द्रपुरतर्फ जाँदै गरेको ना.४ख.५३१८ नम्बरको बस अनियन्त्रित भई सडकछेउको लचकामा पल्टिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
लगातारको वर्षाका कारण सडकछेउमा बाढीको पानीको तीव्र बहाव रहे पनि बसमा रहेका यात्रुलाई समयमै उद्धार गरिएकोले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ ।
दुर्घटनापछि स्थानीय बासिन्दाले तत्काल उद्धार कार्य सुरु गरी बसमा सवार सबै यात्रुहरूलाई सकुशल बाहिर निकालेका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, बसलाई खाल्टोबाट निकालेर सडकमा यातायात सहज बनाउन आवश्यक प्रक्रिया सुरु गरिएको छ । प्रहरीले दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।
स्थानीय बासिन्दाको तत्परता र समयमै भएको उद्धार कार्यका कारण सम्भावित ठूलो दुर्घटना टरेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्