तपाईँ सुन्दै हुनुहुन्छः

होटेल शाह प्याराडाइजमा दुई भारतीय नागरिक मृत फेला 

वीरगञ्ज । वीरगञ्जको भानु चोकस्थित होटेल शाह प्याराडाइजको कोठा नम्बर १११ मा दुई भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् । 

मृतकहरू भारतको त्रिपुरा राज्यको पश्चिम त्रिपुरा जिल्लास्थित पश्चिम भुवनका ६७ वर्षीय सजल आचार्जी र उनका २४ वर्षीय छोरा सागर आचार्जी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार, असोज १९ गते बिहान ४ बजे होटेलमा कोठा लिएका सजल र सागर मङ्गलवार साँझ ७ बजेसम्म कोठाबाट बाहिर ननिस्किएपछि होटेलका कर्मचारीलाई शङ्का लागेको थियो ।

कर्मचारीले कोठाको ढोका बारम्बार ढकढकाउँदा कुनै प्रतिक्रिया नआएपछि छेउको कोठाको भेन्टिलेटरबाट हेर्दा सागर सिलिङ फ्यानमा झुन्डिएको र सजल ओछ्यानमा घोप्टो परेको अवस्थामा देखिएका थिए ।

होटेल सञ्चालकले मङ्गलवार साँझ ७ः३० बजे प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । रात परिसकेकाले मङ्गलवार कोठाको ढोका नखोली प्रहरीले बुधवार बिहान ७ः३० बजे ढोकाको ताला फोडेर कोठाभित्र प्रवेश गरेको थियो ।

कोठाभित्र सजलको घाँटीमा नीलो डाम देखिएको र सागर सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा फेला परेको डिएसपी लम्सालले बताउनुभयो । 

प्रहरीले दुवै शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ । “पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको यकिन कारण खुल्नेछ,” लम्सालले भन्नुभयो । प्रारम्भिक रूपमा हेर्दा आत्महत्या गरेको हुनसक्ने लम्सालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button