झापा गाउँपालिकाका ६३६ बाढीपीडित परिवारलाई राहत वितरण
झापा । यही असोज १८ र १९ गते परेको अविरल वर्षासँगै विभिन्न नदीमा आएको बाढीबाट झापामा सबैभन्दा बढी प्रभावित झापा गाउँपालिकाका बाढीपीडित ६३६ परिवारलाई आज राहत वितरण गरिएको छ ।

सो गाउँपालिकाका वडा नं १ र २ का त्यति बाढीपीडित परिवारलाई राहत वितरण भइरहेको हो । वडा नं १ को मिलन बस्तीका ८९, सालमाराका २८८, वडा नं २ को सुगा बथानका ६६ र कुवाडीका १९३ परिवारलाई प्याकेजअनुसार राहत वितरण गरिएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ ।
प्याकेजअनुसार प्रतिपरिवार चामल १ बोरा, तेल १ लिटर, नुन २ केजी, आलु ५ केजी, दाल २ केजी, पानी १ कार्टुन , म्याट २ थान र कम्बल २ थान वितरण गरिएको हो । समितिको बैठकको निर्णय अनुसार झापा गाउँपालिकाको समन्वयमा एकद्वार प्रणालीबाट राहत वितरण भइरहेको जनाइएको छ । वडा नं १ का बाढीपीडितका लागि रेडक्रस भवन र २ का लागि इलाका प्रहरी कार्यालय कुमर खोदमा राहत वितरण भएको बताइएको छ ।
झापामा सबै बाढीपीडितलाई एकै परिमाणमा राहत सामग्री वितरण गरिने जनाइएको छ । झापामा ५ हजारभन्दा बढी परिवारका २५ हजारभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका थिए ।
प्रतिक्रिया राख्नुहोस्