तपाईँ सुन्दै हुनुहुन्छः

सेनाको हेलिकोप्टरमार्फत सुत्केरी महिलाको उद्धार

भोजपुर। भोजपुरमा एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आज बिहान सेनाको एन ए–०५५ कलसाइन भएको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । 

रामप्रसादराई गाउँपालिका–४ दलगाउँकी ३९ वर्षीया निर्मला राई स्थानीय स्वास्थ्य चौकीमा प्रसूति हुनुभएको थियो । तर प्रसूतिपछि नवजात शिशुको स्वास्थ्यमा समस्या देखिएपछि तत्कालै थप उपचारका  लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको हो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला सशक्तीकरण परियोजनाको सहयोगमा सुत्केरी महिलाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो । समयमै उद्धार गर्न सकेको कारण महिलाको ज्यान बचाउन सहयोग पुगेको प्रजिअ तिवारीको भनाइ छ । 

स्थानीय स्वास्थ्यकर्मीका अनुसार प्राथमिक उपचारपछि पनि शिशुको अवस्था जटिल बनेपछि तत्काल उद्धार आवश्यक भएको बताइएको छ । गाउँपालिका तथा जिल्ला प्रशासनको पहलमा सेनाको हेलिकप्टरले बिहानै उद्धार गरेर बिरामीलाई सुरक्षित रूपमा प्रतिष्ठान पुराइएको हो । ग्रामीण क्षेत्रमा तत्कालीन स्वास्थ्य सुविधा अभावले गर्दा यस्ता उद्धारले जनताको जीवन बचाउन सहयोग पुर्‍याउँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button