रौतहटमा सबैभन्दा बढी ३५३ र पर्सामा २८८ मिलिमिटर वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा देशमै सबैभन्दा बढी रौतहटमा ३५३ मिलिमिटर वर्षा भएको छ ।
विभागका सूचना अधिकारी दिनकर कायस्थले अहिले पनि सो क्षेत्रमा भारी वर्षा भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार पर्सामा २८८ मिलिमिटर वर्षा भएको छ । यो आज राति ८ः३० बजेको अध्यावधिक विवरण हो । पछिल्लो २४ घण्टाको तथ्यंक विष्लेषण गर्दा रौतहट र त्यसआससापका जिल्लाहरुमा अन्य क्षेत्रको तुलनामा निक्कै भारी वर्षा भइरहेको हो ।
बारामा २१४, सिन्धुलीमा २२०, सर्लाहीमा २२३, मकवानपुरमा १६७ मिलिमिटर वर्षा भएको छ । ललितपुरमा पनि भारी वर्षा भइरहेको छ ।
ललितपुरमा पछिल्लो २४ घण्टामा १५१ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा १३५ मिलिमिटर र भक्तपुरमा १११ मिलिमिटर वर्षा भएको छ । चितवनमा ११५ मिलिमिटर, महोत्तरीमा ११३ मिलिमिटर, धनुषामा ११२ मिलिमिटर, रामेछापमा १०० मिलिमिटर वर्षा भएको छ । ५० देखि १०० मिलिमिटरको बीचमा वर्षा हुने जिल्लाहरु भने दर्जनौँ रहेका छन् ।
विभागको बाढी पूर्वानुमान महाशाखाले अहिलेसम्म ललितपुर खोकनामा बागमती, सिन्धुलीस्थित कमला नदी, मकवानपुरको लालबकैया नदीले खतराको तह पार गसिकेको जनाएको छ ।
रौतहट, बारा, पर्सा वर्षामापन केन्द्रहरुमा अति भारी वर्षा भएपछि हालसम्म १० वटा केन्द्रले खतराको तह पार गरेपछि साइरन समेत बजाइएको छ । राति पनि भारी वर्षा जारी रहने भएकाले सावधानी अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।
अहिले वंगालको खाडीबाट आएको मनसुनी वायु सक्रिय रहेको जनाउँदै विभागले आज साँझदेखि आउँदो २४ घण्टामा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र कोशी प्रदेश,बागमती प्रदेश, मधेश प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको अनुमान सार्वजनिक गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्