तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा २० गतेसम्म लामो दूरीका सवारी साधन आवागमनमा रोक

कास्की । मुलुकभर आजदेखि ३ दिनसम्म मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान जारी भएसँगै कास्की प्रशासनले लामो दूरीका सवारी साधनको आवतजावत पूर्ण रूपमा रोक्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबार जारी गरेको अत्यन्त जरुरी सूचनामा नागरिकलाई सतर्क रहन र घरमै सुरक्षित बस्न आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार असोज १८ देखि २० गतेसम्म देशभर वर्षा हुने र गण्डकी प्रदेशका विभिन्न भूभागमा बाढी, पहिरो र डुबानको जोखिम रहने अनुमान गरिएको छ । सोही पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार म्याग्दी, पर्वत, बागलुङ, स्याङ्जा र कास्की हुँदै काठमाडौँ, लुम्बिनी, मधेश प्रदेशतर्फ जाने सबै लामो दूरीका सवारी साधन अस्थायी रूपमा बन्द गरिएको प्रशासनले जनाएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालद्वारा जारी सूचनामा भनिएको छ, “सर्वसाधारणको ज्यान र सुरक्षालाई ध्यानमा राख्दै असोज १८ देखि २० गतेसम्म कास्की हुँदै अन्य प्रदेशतर्फ जाने र काठमाडौँ उपत्यका भित्रिने–बाहिरिने सबै लामो दूरीका सवारी साधनको आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको छ ।”

उहाँले मौसम सामान्य नभएसम्म यात्रुहरूलाई अनावश्यक आवतजावत नगर्न, विशेषगरी रातको समयमा यात्रा टार्न र आवश्यक परे नजिकैका प्रशासनिक निकायसँग समन्वय गर्न अनुरोध समेत गर्नुभएको छ ।

कास्की प्रशासनले अन्य जिल्ला प्रशासन कार्यालयहरूलाई समेत अनुरोध गर्दै म्याग्दी, पर्वत, बागलुङ र स्याङ्जाबाट कास्की हुँदै विभिन्न प्रदेशतर्फ जाने सवारीसाधनहरू तत्कालै रोक्न निर्देशन दिएको छ ।

प्रशासनले नागरिकलाई अत्यावश्यक कामबाहेक जिल्ला बाहिर नजान, घर वरिपरिका नदी–नालामा सतर्क रहन र स्थानीय विपद् व्यवस्थापन निकायका सूचनाहरू पालना गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button