तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा जिप दुर्घटना : ६ जनाको घटनास्थलमै मृत्यु, ५ घाइते

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–३ मा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन्। ताप्लेजुङको साँवा गाउँबाट धरानतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको हो।

जिल्ला प्रशासन कार्यालय पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण अधिकारीका अनुसार, मृतक मध्ये तीन जना महिला र तीन जना पुरुष रहेका छन्। हालसम्म उनीहरूको पहिचान खुलेको छैन।

घाइते पाँच जनाको उद्धार गरी जिल्ला अस्पताल फिदिममा उपचारका लागि पठाइएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो।

जिप सडकबाट करिब ५ सय मिटर तल खसेको जनाइएको छ। जिपमा जम्मा ११ जना सवार थिए।

स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको हो। दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन र अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button