कर्णाली प्रदेश प्रहरी कार्यालयमा मौलो पूजा

सुर्खेत । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक माधवप्रसाद श्रेष्ठले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको महानवमीको अवसरमा आज कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा निशान तथा मौलो पूजा गर्नुभएको छ ।
उहाँले पूजाअर्चना तथा सङ्कल्प पूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी कर्मचारीलाई पगरी तथा नगद प्रदान गर्नुभएको हो ।
उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहण गर्नुका साथै वरिष्ठ प्रहरी अधिकृतसहित प्रहरी कर्मचारीहरूले मौलो परिक्रमा गर्नुभयो ।
नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ ।

नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्ट देवताको प्रतिकका रुपमा निशान झण्डालाई लिइन्छ ।
सङ्गठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण प्रहरी कर्मचारीको कार्यमा सफलता प्राप्त होस भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ ।
नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्त गरेपश्चात् हरेक वर्ष बडा दसैँ र चैते दसैँमा निरन्तररुपमा मौलो पूजा गर्दै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्