धारा नेपालगञ्ज म्याराथनको दर्ता सुरु
बाँके। आउँदो मंसिर ६ गते हुने धारा नेपालगञ्ज म्याराथनको ११औँ संस्करणका लागि दर्ता आइतवारदेखि सुरु भएको छ। असोज मसान्तसम्म हुने अर्लीबर्ड दर्तामा २० प्रतिशतसम्म छुट उपलब्ध गराइने आयोजकले जनाएको छ।
यस वर्ष म्याराथनमा ४२.१९५ किमी पुरुष खुला, २१.०९७ किमी हाफ म्याराथन (पुरुष–महिला), १० किमी खुला, ५ किमी स्कुलस्तरीय छात्र–छात्रा, ५ किमी कर्पोरेट रन, ३ किमी किड्स रन, फन रन र ह्वीलचेयर रन समावेश छन्।
वल्र्ड रनिङको साझा संस्था एएसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (AIMS) बाट मान्यता प्राप्त प्रतियोगितामा म्याराथन, हाफ म्याराथन र १० किमिका शीर्ष १०, ५ किमिका शीर्ष ५ र ३ किमिका शीर्ष ३ जनालाई नगद, पदक र प्रमाणपत्र प्रदान गरिनेछ। नगद पुरस्कारबारे छिट्टै घोषणा गरिने आयोजकले जनाएको छ।
रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङका अनुसार यसपटक विजेतालाई अन्तर्राष्ट्रिय स्तरका दौड प्रतियोगितामा सहभागी गराउने तयारी गरिएको छ। प्रतियोगिता सहज रुटका कारण लोकप्रिय मानिन्छ।
आयोजकले यती एयरलाइन्ससँग अफिसियल पार्टनरको सम्झौता गरेका छन् भने बाङ्सेन रनिङ सिरिजसँग सहकार्य गर्दै नेपाली धावकलाई तीन वल्र्ड क्लास रनिङ इभेन्टमा सहभागी गराउने तयारी भइरहेको छ।
धारा नेपालगञ्ज म्याराथन २०७२ सालमा शान्ति सम्झौताको दिनलाई स्मरण गर्दै सुरु गरिएको हो। कोभिड–१९ महामारीमा पनि स्वास्थ्य प्रोटोकल पालना गर्दै यो प्रतियोगिता निरन्तर सञ्चालन हुँदै आएको आयोजकले जानकारी दिएको छ।
प्रतिक्रिया राख्नुहोस्