मुख्यमन्त्री शाह ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएका नगरपालिका भवनको अवलोकनमा

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ प्रदर्शनका क्रममा कैलालीका विभिन्न स्थानीय तहमा भएको क्षतिबारे अवलोकन गर्नुभएको छ ।
मुख्यमन्त्री शाहले आज गोदावरी, गौरीगङ्गा र घोडाघोडी नगरपालिकाको अवलोकन गर्नुभएको हो ।
मुख्यमन्त्री शाहले आन्दोलनका क्षतिग्रस्त भौतिक संरचनाको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँलाई घोडाघोडी नगरपालिका प्रमुख खडक रावतले आन्दोलनका क्रममा तोडफोड तथा आगजनीका कारण घोडाघोडी नगरपालिका र सम्पूर्ण वडाले ठुलो आर्थिक क्षति बेहोर्नु परेकाबारे जानकारी गराउनुभयो ।
नगरप्रमुख रावतका अनुसार घोडाघोडी नगरपालिकामा जिन्सीतर्फ रु तीन करोड ५० लाख ९७ हजार ७ सय क्षति भएको छ भने पूर्वाधारतर्फ रु ७० लाख क्षति भएको छ ।
यसैगरी, १२ वटै वडामा जिन्सीतर्फ रु दुई करोड २९ लाख २८ हजार र पूर्वाधारतर्फ रु दुई करोड क्षति भएको छ । पालिकाभरि रु आठ करोड ५० लाख २५ हजार क्षति भएको नगरप्रमुख रावतले जानकारी दिनुभयो ।
“प्राविधिकका अनुसार नगरप्रमुख र उपप्रमुखको कार्यकक्ष पुनर्निर्माण नगरेसम्म सेवा दिन सकिने अवस्था छ । यस्तै, वडा नं ४, ६, र १२ पनि पुनर्निर्माण गर्नुपर्ने देखिएको छ । हाललाई नगरपालिकाबाट दैनिक सामान्य सेवा दिइरहेका छौँ । दसैँ र तिहारको बीचमा सबै कार्यालय पुनर्निर्माण गरी तिहारपछि राम्रोसँग सेवा सञ्चालन गर्नेछौँ”, उहाँले भन्नुभयो ।
घोडाघोडी नगरपालिकासँगै गोदावरी र गौरीगङ्गा नगरपालिकाको पनि क्षतिको विवरण लिइएको छ । गोदावरी नगरपालिकामा रु नौ करोड र गौरीगङ्गामा रु सात करोड १२ लाख बढीको क्षति भएको छ । कैलालीमा सबैभन्दा बढी घोडाघोडी, गोदावरी र गौरीगङ्गा नगरपालिकामा क्षति पुगेको जनाइएको छ ।
अवलोकनका क्रममा मुख्यमन्त्री शाहले पुनर्निमार्णका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । प्रदेश सरकार खर्च कटौतीमा लागेको बताउँदै उहाँले सबै पालिकाले पनि खर्च कटौती गर्नतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री शाहले प्रदेश सरकारले नागरिकको सुरक्षा, शान्ति–व्यवस्था र पुनः स्थापनालाई प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गर्दै प्रभावित नगरपालिकामा आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्