अर्थमन्त्री र विभिन्न मुलुकका राजदूतहरूबिच शिष्टाचार भेट
काठमाडौँ । २०८२ असोज १० गते अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र नेपालका लागि युरोपियन युनियनका राजदूत Ms. Veronique Lorenzo, नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत Mr. Udo Eugen Volz र नेपालका लागि फिनल्याण्ड गणतन्त्रका राजदूत Mr. Petri Puhakka तथा नेपालका लागि फ्रान्स गणतन्त्रका राजदूतावासका प्रतिनिधिबिच भेटवार्ता भएको छ।

भेटमा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले युरोपियन युनियन, फ्रान्स, जर्मनी र फिनल्यान्डले नेपालको विकास प्रक्रियामा विगत लामो समयदेखि पुर्याउँदै आएको साथ र सहयोगप्रति धन्यवाद ब्यक्त गर्नुभयो । छलफलमा युरोपियन युनियनले सार्वजनिक वित्त व्यवस्थापन, सार्वजनिक खरिद, मानव श्रोत विकास लगायतका क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको उहाँले बताउनुभयो। त्यसैगरी फ्रान्स, जर्मनी र फिनल्यान्डले स्वास्थ्य, पर्यटन, ऊर्जा, राजस्व लगायतका क्षेत्रमा गरेको सहयोगको चर्चा पनि उहाँले गर्नुभयो। भेटघाटका क्रममा युरोपियन युनियन, जर्मनी र फिनल्यान्डका राजदूतहरूले नेपालमा हालै भएको राजनीतिक परिवर्तन पश्चात् समेत नेपाल सरकारसँग सहकार्य गर्न सधैँ तयार रहेको उल्लेख गर्नुभयो।
त्यसैगरी सोही दिन अर्थमन्त्री श्री रामेश्वर प्रसाद खनाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा. ड्यानिली म्यूले बीच अर्थ मन्त्रालयमा आपसी हितका विषयमा छलफल गर्नुभएको थियो ।

उक्त भेटघाटमा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले स्वीट्जरल्याण्ड नेपालको असल मित्र भएको र नेपालको आर्थिक विकासमा उल्लेख्य योगदान पुर्याउँदै आएकोमा धन्यवाद ब्यक्त गर्नुभयो । साथै मन्त्री खनालले नेपाल र स्वीट्जरल्याण्डबीच समान प्रकृतिको भौगोलिक अवस्थिति रहेको बताउँदै सार्वजनिक वित्त व्यवस्थापन, व्यावसायिक तालिम, प्रादेशिक तथा स्थानीय सुशासन, क्षमता विकास लगायतका क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो। भेटमा स्विस राजदूतले नेपालको विकास प्रक्रियामा सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा समेत नेपाल सरकारसँग सहकार्य गर्न सधैँ तयार रहेको उल्लेख गर्नुभयो।
प्रतिक्रिया राख्नुहोस्