तपाईँ सुन्दै हुनुहुन्छः

व्यापक जनआलोचनापछि बेलौरी नगरपालिकाका कर्मचारीहरू नियमित काममा फर्किए

कञ्चनपुर । व्यापक जनआलोचनापछि कञ्चनपुरको बेलौरी नगरपालिकाका कर्मचारीहरू नियमित काममा फर्किएका छन् ।

भ्रष्टाचार र बेथितिको विरुद्धमा उत्रिएका जेन-जी पुस्ताका युवाहरू, समर्थक तथा पत्रकारहरूले नगरपालिकाका केही विवादित विषयमा लिखित विवरण माग्दा जबाफदेहिताको सट्टा जिम्मेवार जनप्रतिनिधि र केही कर्मचारीहरूले मातहतका सबै कर्मचारीहरूलाई पालिकामा भेला गराई बुधबार दिउँसोदेखि सेवा प्रवाह ठप्प पारेका थिए ।

कर्मचारीहरूको उक्त कदमको व्यापक आलोचना भएपछि बिहीबारदेखि कर्मचारीहरू नियमित काममा फर्किएका हुन् । बुधबार दिउँसो कर्मचारीहरूलाई नगरपालिकाले सेवा प्रवाह नगर्न भेला गरेको भन्दै व्यापक आलोचना भएपछि आज प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर बुढाथोकीले मातहतका सबै कर्मचारीलाई नियमित रुपमा काममा फर्कन निर्देशन दिनुभएको हो । उहाँले सेवाग्राहीले पाउने नियमित सेवा अब बाधारहित रूपमा सञ्चालन हुने स्पष्ट गर्नुभयो ।

यसैबीच, बेलौरी नगरपालिकाका प्रवक्ता हर्कबहादुर भुलको हस्ताक्षर रहेको पत्रमा “सेवाग्राहीलाई पर्न सक्ने समस्या मध्यनजर गर्दै असोज ८ गतेको विज्ञप्तिलाई फिर्ता लिइएको छ । बेलौरी जेन(जी तथा समर्थक समूहलाई सर्वपक्षीय बैठकमा बोलाएर छलफल गर्ने निर्णय भएको हुँदा सम्पूर्ण कर्मचारीले तत्काल सेवा प्रवाह सुचारु गर्न अनुरोध गरिन्छ” भनेर उल्लेख गरिएको छ ।

नगरपालिकामा भइरहेका अनियमितता र भ्रष्टाचारका विरुद्ध युवाहरूले निरन्तर शान्तिपूर्ण आन्दोलन गर्दै आएका छन् । तर माग सम्बोधन गर्नेतर्फ गम्भीर नबनी, बरु कर्मचारीलाई ढाल बनाएर आन्दोलन दबाउने प्रयास गरेको भन्दै नगरवासी र सरोकारवालाहरूले तीव्र आलोचना गरेका थिए । सर्वपक्षीय बैठक र नगर कार्यपालिकाको बैठक बसी आन्दोलनरत पक्षसँग छलफल गरेर समस्याको दीर्घकालीन समाधान खोजिने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button