चाडपर्वमा निकुञ्जको सुरक्षामा कडाइ
चितवन I चाडपर्वको समयमा हुन सक्ने चोरीसिकारीलाई मध्यनजर गर्दै चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ गरिएको छ ।
कामका सिलसिलामा विदेश वा जिल्ला बाहिर रहेका व्यक्तिहरू आउने क्रम बढेसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिने गर्दछ । यही समयमा तस्करीहरूले योजना बनाउन सक्ने भएकाले निकुञ्जको सुरक्षालाई आकलन गरी सुरक्षा व्यवस्था कडाइ गरिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार निकुञ्ज क्षेत्र भित्रका ३२ वटा सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा ल्याइएको छ । उहाँले भन्नुभयो, “चाडपर्वको समयमा हुन सक्ने सम्भावित चोरीसिकारीलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ ।” चाडपर्व लक्षित सुरक्षाका लागि हात्ती, पैदल, छोटो तथा लामो दुरीको गस्ती गरिने छ ।
निकुञ्ज भित्रका ५७ वटा पोस्टहरूलाई सक्रिय बनाइएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चेकपोष्ट र निकुञ्ज क्षेत्रमा बसोबास गर्ने सबैलाई चनाखो रहन आग्रह गरिएको छ ।” वन्यजन्तु संरक्षणका लागि बनाइएका समुदाय स्तरका क्लबहरूलाई सचेतना जगाइएको उहाँले जानकारी दिनुभयो ।
९५२ दशमलव ६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्जमा हरेक वर्ष चाडपर्वको समयमा तस्करहरू आउने गरेकाले यस वर्ष उच्च सतर्कता बढाइएको उहाँले बताउनुभयो । रासस
प्रतिक्रिया राख्नुहोस्