पाकिस्तानी हवाई आक्रमणमा २३ जनाको मृत्यु
पेशावर, पाकिस्तान । पाकिस्तान प्रहरी र सुरक्षा स्रोतले दुर्गम सीमा क्षेत्रमा सोमबार गरेको हवाई आक्रमणमा कम्तीमा २३ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।
विपक्षी सांसदहरूले सेनाले आतङ्कवाद विरोधी अभियान अन्तर्गत रातिमा छापा मारेको आरोप लगाएका छन् तर सरकार वा सशस्त्र बलले कुनै आधिकारिक वब्तब्य जारी गरी यस सम्बन्धमा औपचारिक भनाई सार्वजनिक गरेका छैनन् ।
पाकिस्तानी तालिबान (टिटिपी) लडाकूले हालैका महिनाहरूमा अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्रमा सुरक्षा फौजविरुद्ध हिंसा अभियान बढाएका छन्।
राष्ट्रिय सभाका विपक्षी सदस्य इकबाल अफ्रिदीले घटनाको पुष्टि गर्दै एएफपीसँग भन्नुभयो “सुरक्षा बलको विमानले गोलाबारी गरेको र यसबाट २३ जनाको मृत्यु भएको छ।”
सोमबार दिउँसो खैबर पख्तुन्ख्वाको विधानसभामा बोल्दै प्रान्तीय सांसद सोहेल खान अफ्रिदीले पनि आक्रमणका लागि सेनाको आलोचना गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “सुरक्षाकर्मीको यो आक्रमण निहत्था नागरिकमाथिको आक्रमण भन्दा कम छैन ।”
आक्रमणबारे प्रतिक्रया जनाउने दुवै सांसद जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका सदस्य हुन् । खैबर पख्तुनख्वा प्रान्त खानको पार्टीको प्रभाव क्षेत्र हो ।
तिराह शहरमा तैनाथ एक वरिष्ठ प्रहरी अधिकारीले एएफपीसँग बताएअनुसार मारिने २३ जनामध्ये सात महिला र चार बालबालिका पनि थिए ।
नाम उल्लेख नगर्ने सर्तमा उहाँले भन्नुभयो, “जेटहरुले चारवटा घरलाई निशाना बनाएका छन्, जुन पूर्ण रुपमा ध्वस्त भएका थिए ।
“तिराह पाकिस्तान र अफगानिस्तान सीमाको नजिक छ र त्यहाँ धेरै टिटिपी लडाकूले गोप्यरूपमा शरण लिएको विश्वास गरिन्छ । हालैका महिनाहरूमा यस क्षेत्रमा सुरक्षा फौजमाथि धेरै आक्रमणहरू भएका छन्।
पेशावरका एक सुरक्षा अधिकारीले मृतकको सङ्ख्या पुष्टि गर्दै उक्त क्षेत्रमा ‘टिटिपी लुकेका दर्जनौँ स्थान’ रहेको बताएका छन् । उहाँले आक्रमण कसले गरेको हो भन्ने कुरा पनि बताउन अस्वीकार गर्नुभयो।
सोमबार दिउँसो करिब दुई हजार मानिसहरू नजिकैको शहरमा घातक आक्रमणको विरोधमा भेला भएका थिए।
सन् २०१४ मा सुरु भएको आतङ्कवाद विरोधी अभियानअघि टिटिपीले अफगानिस्तानसँग सीमा जोडिएको भूभाग कब्जा गरेको थियो। रासस÷एएफपी
(((
प्रतिक्रिया राख्नुहोस्