तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवद्र्धनलाई तीव्र बनाउँदै पर्यटन बोर्ड

काठमाडौँ । जेनजी प्रदर्शनका कारण पर्यटन व्यवसायी केही निराश भए पनि नेपाल पर्यटन बोर्डले भने अन्तर्राष्ट्रिय स्रोत बजारमा पर्यटन प्रवद्र्धनलाई तीव्रता दिएको छ । जेनजी प्रदर्शनपछि अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटनबारे सकारात्मक प्रचारप्रसारका लागि बोर्डले प्रवद्र्धनका कार्यक्रमलाई अघि बढाएको हो । 

सोही क्रममा बोर्डले जेनजी प्रदर्शनपछि पहिलो पटक यही असोज २ देखि ४ गतेसम्म बङ्गलादेशको राजधानी ढाकामा आयोजित १२औँ एसियन पर्यटन मेलामा सहभागी भई नेपाल विदेशी पर्यटक स्वागतका लागि पूर्ण रुपमा तयार रहेको सन्देश दिएको छ । 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० दीपकराज जोशीले प्रदर्शनका कारण पर्यटन क्षेत्रमा केही क्षति भए पनि ठूलो प्रभाव नपरेको उल्लेख गर्नुभयो । “प्रदर्शनपछि पर्यटन बजार सामान्य अवस्थामा फर्किएको छ, यो सन्देश हामीले अन्तर्राष्ट्रिय स्रोत बजारमा पुर्‍याउनु छ, सोही क्रममा बङ्गलादेशमा पर्यटन प्रवद्र्धन गरेका हौँ”, उहाँले भन्नुभयो । 

बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले मेलाको उद्घाटनका अवसरमा नेपालको पर्यटन क्षेत्र विभिन्न चुनौतीबीच पनि छिटो पुनःरुत्थान भइरहेको उल्लेख गर्नुभयो । उहाँले नेपाल–बङ्गलादेशबीचको पर्यटन सहकार्य र जनस्तरीय सम्बन्ध अझ मजबुत बनाउनु पहल भइरहेको दाबी गर्नुभयो । मेलामार्फत नेपाली कम्पनीहरूले नयाँ अवसरको पहिचान, पुराना सम्बन्धलाई नवीकरण गर्दै प्याकेज तथा सेवाहरू प्रस्तुत गरेका थिए ।

      त्यस अवसरमा बङ्गलादेशी आगन्तुकहरूले नेपालमा भएको जेनजी आन्दोलनपछिको अवस्थाबारे जिज्ञासा राखेका थिए । उनीहरूले बङ्गलादेशमा पनि विगत वर्षमा भएका राजनीतिक घटनाक्रमसँग तुलना गर्दै नेपाल भ्रमण गर्ने योजनामा कुनै असर नपरेको प्रतिक्रिया दिएका थिए । 

सन् २०२४ मा नेपालमा करिब ४९ हजार बङ्गलादेशी पर्यटक आएका थिए भने सन् २०२५ को पहिलो आठ महिनामै बङ्गलादेशी पर्यटक आगमनमा झन्डै ३२ प्रतिशत वृद्धि भएको पर्यटन बोर्डको भनाइ छ । भौगोलिक निकटता, समान जीवनशैली र बङ्गलादेशको बढ्दो आर्थिक क्षमताका कारण नेपाल उनीहरूका लागि प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने बोर्डको विश्वास छ । 

मुलुकको पर्यटन प्रवद्र्धनका लागि बोर्डसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सरोकारवालाले पनि पर्यटन पुनःरुत्थानका लागि सक्रियता देखाएको बोर्डको बुझाइ छ । “आन्तरिक गन्तव्यमा मात्रै नभइ अन्तर्राष्ट्रिय पर्यटन स्रोत बजारमा पनि नेपालका पर्यटकीय गन्तव्य सुरक्षित रहेको सन्देशसहित नेपाल भ्रमणका लागि आग्रह गरिएको छ”, सिइओ जोशीले भन्नुभयो । 

बोर्डले आफ्नो वेबसाइटमा नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा भ्रमण गरिरहेका पर्यटकहरूलाई उनीहरूको अनुभव लाइभ गरेर प्रवर्द्धनात्मक गतिविधिलाई निरन्तरता दिएको छ । बोर्डले पवित्र धार्मिक तीर्थस्थल, साहसिक गन्तव्यलगायतबाट पर्यटकको अनुभवलाई भिडियोमार्फत सार्वजनिक गरिरहेको छ ।

     सिइओ जोशीका अनुसार कूटनीतिक नियोग, गैरआवासीय नेपाली सङ्घलगायत माध्यमबाट अन्तर्राष्ट्रिय स्रोत बजारमा नेपालको पर्यटन प्रवद्र्धन गरिएको छ । यसका लागि प्यासिफिक एसिया ट्राभल एसोसिएसन ९पाटा०, संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनलगायतसँग पनि सहकार्य गरिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button