बैजनाथमा देउडा मेलासँगै कृषि हाट बजार सञ्चालन
बाँके। देउडा साँस्कृतिक संरक्षण प्रतिष्ठान, शाखा कार्यालय बैजनाथ–४ ले “सानालाई माया गर्नु, ठुलालाई मान” भन्ने नारासहित प्रत्येक शनिबार देउडा गीत–नृत्य कार्यक्रम गर्दै आएको छ। प्रतिष्ठानले कर्णालीका विभिन्न जिल्लाबाट बसाइँसराई गरी यहाँ बसोबास गरेका नागरिकहरूको सांस्कृतिक पहिचान जोगाउने उद्देश्य राखेको छ।

शनिबार हुने देउडा मेला मात्र लोपोन्मुख सांस्कृतिक सम्पदा जोगाउने होइन, गीतमार्फत पीडा–वेदना पोख्ने परम्परा निरन्तरता दिने अवसर पनि हो। मेलासँगै बानियाबारको कृषि हाट बजारमा स्थानीय कृषकले उत्पादन गरेका तरकारी, फलफूल र अन्य सामग्रीको कारोबार पनि हुने गर्छ।

गाउँपालिकाले “एक वडा, एक कृषि हाट बजार” अवधारणाअन्तर्गत बानियाबार र चिसापानीमा बजारको तयारी गर्दै आएको छ। पालिकाले किसानलाई मल, बीउ, सिँचाइ, पशुपालनमा अनुदान उपलब्ध गराउँदै उत्पादनमा आत्मनिर्भर बैजनाथको लक्ष्य अघि बढाइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्