भक्तपुरका स्थानीय तह र विद्यालय सञ्चालनमा
भक्तपुर । जनजीवन सामान्य बन्दै गएपछि आजदेखि भक्तपुरका स्थानीय तहका कार्यालय र विद्यालय सञ्चालनमा आएका छन् ।
भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले नगरपालिका, वडा कार्यालय र विद्यालयहरू सबै सञ्चालनमा आएको जानकारी दिनुभयो ।
उहाँले आन्दोलनका क्रममा बन्द भएका सबै कार्यालय आजदेखि सञ्चालन गर्न सार्वजनिक सूचना जारी गरेको र सोहीअनुरूप सेवा सुरु भएको बताउनुभयो ।
यसैगरी, सूर्यविनायक नगरपालिकाले तोडफोड भएको नगरपालिका भवनको आजदेखि सरसफाइ सुरु गरेको छ । आन्दोलनको दोस्रो दिन भौतिक संरचना तोडफोड गर्नाका साथै नगरपालिका भवनमा आगजनीको प्रयास भएको थियो । त्यस क्रममा स्थानीयले प्रतिकार गरेपछि आन्दोलनकारी तितरबितर हुँदा भवन जोगिएको छ ।
नगरप्रमुख वासुदेव थापाले तोडफोड भएको भवनको आज सरसफाइ गरिएको र सोमबारदेखि सेवा सञ्चालन गरिने बताउनुभयो । नगरपालिका सबै विद्यालय आजदेखि सञ्चालन भएको उहाँले जानकारी दिनुभयो ।
नगरप्रमुख थापाले भन्नुभयो, “आज सरसफाइ सकेर फुटाएका सिसाहरू फेर्नेलगायत काम सकेर भोलिदेखि सेवा सञ्चालन गर्छौँ । वडा कार्यालयले पनि सेवा सञ्चालन गर्नेछन् तर वडा नं ४ र ७ आन्दोलनकारीको तोडफोड र आगजनीबाट पूर्ण रूपमा जलेर क्षति भएकाले ती कार्यालय सञ्चालनमा आउन केही दिन लाग्ने छ ।”
वडा नं ७ गुण्डुका वडाध्यक्ष रवीन्द्र सापकोटाले भने आन्दोलनकारीको आगजनीबाट वडा कार्यालय पूर्ण रूपमा ध्वस्त भएकाले तत्काल सेवा सञ्चालन गर्न नसकिने बताउनुभयो ।
मध्यपुरथिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले सबै वडा कार्यालयले सेवा सञ्चालन गरेका र नगरपालिका भवनमा आगजनी गरेकाले केही दिन समय लाग्ने बताउनुभयो ।
यता चाँगुनारायण नगरपालिकाले पनि आजदेखि वडा कार्यालयबाट सेवा सञ्चालन गरेको छ । नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष जनक खत्रीले नगरपालिकाका सबै वडा कार्यालयले सेवा सुरु गरेको दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्