निषेधाज्ञा हटेसँगै भक्तपुरको जनजीवन सामान्य बन्दै
भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज मध्याह्नदेखि निषेधाज्ञा एवं कर्फ्यु हटाएपछि यहाँको जनजीवन सामान्य बन्न थालेको छ । यही भदौ २३ र २४ गते जेनजीले गरेको प्रदर्शनपछि सिर्जित अवस्थामा लगाइएको निषेधाज्ञा र कर्फ्यु हटेपछि जनजीवन सामान्य बन्न थालेको हो ।

प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले आज बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार जिल्लाको सुरक्षा व्यवस्था सुदृढ भएसँगै कर्फ्यु स्थगित गरिएको जानकारी दिनुभयो । उहाँले आगलागीबाट क्षति पुगेका जिल्लाका सरकारी कार्यकालहरूको क्षतिको विवरण सङ्कलन गर्ने कार्यसँगै कार्यालयहरूको सफाइ गर्ने र नियमित सेवा सञ्चालनका लागि प्रयास भइरहेको बताउनुभयो ।
आज दिनभर भक्तपुरका सडकहरूमा सार्वजनिक यातायात बाहेकका अन्य यातायात सञ्चालन भएका छन् । नेपाली सेनाको टोली आज सडकमा छैनन् भने प्रहरीहरू नियमित काममा फर्कन थालेका छन् । आजदेखि बजारहरू खुलेका छन् भने नागरिकको आवतजावत बाक्लो बन्न थालेको भन्दै प्रजिअ घिमिरेले जनजीवन सामान्य बन्दै गइरहेको उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्