तपाईँ सुन्दै हुनुहुन्छः

आन्दोलनका क्रममा मिडिया लक्षित हिंसात्मक कार्यको दक्षिण एसिया पत्रकार महासङ्घद्वारा निन्दा

काठमाडौँ। नेपालमा हालै उत्पन्न नागरिक अशान्तिको क्रममा पत्रकार तथा मिडिया संस्थाहरूलाई लक्षित गर्दै भएका हिंसात्मक कार्यहरूको दक्षिण एसिया पत्रकार महासङ्घ (SAJF) ले कडा शब्दमा निन्दा गरेको छ।

महासङ्घले एक विज्ञप्ति जारी गदै धम्की, शारीरिक आक्रमण, मनमानी नजरबन्द, र पेशागत कार्यमा अवरोधलाई प्रेस स्वतन्त्रता र जनताको सूचनाको अधिकारमाथिको प्रत्यक्ष हमला भनेको छ।

(SAJF) का अध्यक्ष गीतार्थ पाठकले पत्रकारहरूको सुरक्षा र सम्मान सुनिश्चित गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै भन्नुभयो, “मिडियामाथिको आक्रमणले लोकतन्त्र, सत्य र जबाफदेहिताको आधारलाई कमजोर बनाउँछ।” उहाँले नेपाल सरकारलाई पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न तत्काल र निर्णायक कदम चाल्न आह्वान गर्नुभयो ।

महासचिव शकील अहमदले पत्रकारहरूमाथि आक्रमण गर्नेहरूलाई तत्काल जबाफदेही बनाइनुपर्ने र दण्डहीनताको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार, पत्रकारहरूले विशेषगरी सङ्कटको समयमा स्वतन्त्र र निर्भय रूपमा काम गर्ने वातावरण पाउनु अत्यावश्यक छ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष शिव लम्सालले सरकारसँग पत्रकारमाथि निर्बाध रूपमा समाचार सङ्कलन गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो । साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको कुनै पनि आक्रमण अस्वीकार्य रहेको स्पष्ट पार्नुभयो।

महासङ्घले मिडियालाई प्रमाणित र तथ्यमा आधारित समाचार मात्र प्रकाशन गर्न र गलत सूचना रोक्न आग्रह गरेको छ। साथै, नागरिक समाज, राजनीतिक दल र सुरक्षाकर्मीहरूलाई पत्रकारको अधिकार र स्वतन्त्रताको सम्मान गर्न अपील गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button