तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा सार्वजनिक सम्पत्ति सुरक्षाका लागि स्थानीय युवा खटिए

वीरगञ्ज। आन्दोलनको बहानामा सार्वजनिक सम्पत्तिको तोडफोड र आगजनी गर्ने क्रम बढेर गएपछि पर्साको जिराभवानी गाउँपालिका सुपौलीका युवा तथा स्थानीय नागरिकहरूले सार्वजनिक र निजी सम्पत्तिको सुरक्षाका लागि आफैँ खटिएका छन् । 

अहिले ‘जेन जी’ समूहको नाममा पर्साको ग्रामीण क्षेत्रमा पनि सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनीका घटना हुन थालेपछि स्थानीय बासिन्दाहरू सार्वजनिक सम्पत्ति जोगाउन सुरक्षाका लागि खटिएका छन् । 

सुपौलीका युवाहरूले लाठी–भाटासहित आज बिहानैदेखि सुपौली बजारको चोकमा गस्ती सुरु गरेका छन् । उनीहरूले इलाका प्रशासन कार्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय र विद्यालयजस्ता संरचनाहरूको सुरक्षामा लागि परेका छन् ।  यो अभियान समुदायको अग्रसरतामा चलाइएको हो र यसले सार्वजनिक सम्पत्ति जोगाउने जिम्मेवारी अब नागरिक आफैँले लिनुपर्ने अवस्था आएको देखाएको छ ।

अन्तरिम सरकार गठनका लागि वार्ता चलिरहेका बेला पर्साका विभिन्न स्थानमा गाउँपालिका, वडा कार्यालय र जनप्रतिनिधिका घरमा तोडफोड तथा आगजनीका घटनाहरू बढेसँगै यस्ता घटनाले ग्रामीण क्षेत्रमा सुरक्षाको चुनौती थपिएको छ । 

देशभर अर्बौँको सार्वजनिक सम्पत्ति नष्ट भएको खबरले चिन्तित बनेका ग्रामिणक्षेत्रका बासिन्दाहरूले आफ्नो गाउँ ठाउँको सार्वजनिक सम्पत्ति सुरक्षाका लागि पहरेदार गर्नुपरेको स्थानीय युवा सुन्दर चौधरीले बताउनुभयो । 

उहाँले आन्दोलनको समयमा अराजक समूहको घुसपैठ हुने हुँदा यसतर्फ नागरिक सचेतना र सक्रियताको आवश्यकता झन् बढेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button