कर्फ्यु जारी भए सँगै महँगीको मारमा बाजुराका स्थानीय
बाजुरा । जेनजीको आन्दोलन र देशको पछिल्लो घटनाक्रम सँगै नेपाली सेनाले लगाएको कर्फ्युका कारण बाजुराको सदरमुकाम मार्तडी सहितका बजार क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको मूल्य ह्वात्तै बढेको छ। यसले स्थानीय उपभोक्ता प्रत्यक्ष मारमा परेका छन्।
यातायातका साधन चल्न नसक्दा धनगढीसहितका ठूला सहरबाट आवश्यक सामग्री आउन नसकेको व्यापारीहरू बताउँछन्। सामग्री अभाव हुँदा मूल्य बढाउन परेको व्यापारी हरुको भनाइ छ।

निषेधाज्ञा अघि प्रतिकेजी ५० देखि ५५ रुपैयाँ पर्ने मोटा चामल अहिले बजारमा ६० रुपैयाँमा पुगेको छ। त्यस्तै ७०–८० रुपैयाँ पर्ने गोलभेँडा प्रतिकेजी १ सय रुपैयाँमा बिक्री भइरहेको छ। अन्य खाद्य तथा तरकारी सामग्रीमा पनि समानुपातिक रूपमा मूल्य वृद्धि भएको छ।
“दैनिक उपभोग्य वस्तु महँगो भएपछि खरिद गरेर खान नसकिने अवस्था आएको छ। कसरी परिवारलाई आवश्यक सामग्री जोहो गर्ने भन्ने ठूलो समस्या छ,” स्थानीय शान्ति विकले दुखेसो पोख्नुभयो।
निषेधाज्ञासँगै बिहान ६ बजेदेखि १० बजेसम्म मात्रै बजार खुल्ने भएकाले उपभोक्ताको घुइँचो लाग्ने गरेको छ। तर महँगोमा सामान किन्नुपर्ने बाध्यता भएको उपभोक्ताले गुनासो गरेका छन्।
यसैबीच, बजार नियन्त्रण तथा उपभोक्ता सुरक्षामा सरोकारवाला निकायको ध्यान नपुगेको स्थानीयले आरोप लगाएका छन्। यद्यपि, बजारमा कृत्रिम अभाव सिर्जना गर्ने केही बिचौलिया सक्रिय भएको आशङ्का गरिए पनि तत्काल समाधानका लागि नागरिक स्तरमै दबाब सिर्जना गर्नुपर्ने प्रहरीले जनाएको छ।
“यस्ता संवेदनशील समयमा व्यापारीलाई सम्झाइ–बुझाइ गरी उपभोक्तालाई सहज बनाउनुपर्ने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकबाल हवारीले बताउनुभयो।
प्रतिक्रिया राख्नुहोस्