सेनासहित सुरक्षा निकायको गस्तीपछि अवस्था सामान्य बन्दै
जनकपुरधाम । जनकपुरधामको सार्वजनिक सम्पत्ति तथा जनताको जीउधनको सुरक्षाका लागि नेपाली सेनाको कमान्डमा तीन तहका सुरक्षा फौज परिचालन भएपछि अवस्था सामान्य बन्दै गएको छ ।

बजार खुल्न थालेपछि जनजीवन सहज बन्न थालेको छ । स्थानीय स्तरमा साना तथा हल्का सवारी साधन चल्न थालेको छ । नेपाली सेनाका वक्तरबन्द गाडीसहित तीनै सुरक्षा निकायका गस्ती टोलीले गस्ती गर्न थालेका छन् । यसका साथै नगर क्षेत्रमा पैदल पनि गस्ती बढाउने काम भएको छ ।
यता जनकपुरधाममा आज कुनै प्रकारको प्रदर्शन नभए पनि केही ठाउँमा लुटपाटको घटना भएको छ । जनकपुरधाम उपमहानगरपालिका तथा मधेश भवनमा रहेको मन्त्रालयबाट केही सामानहरू चोर्ने प्रयास भएको छ । अहिले सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि तीनै तहका सुरक्षा निकाय खटिएको छ ।
केही उत्श्रृखल समूहले जनकपुरधामको क्षति भएको सार्वजनिक कार्यालयहरूमा पसेर सामानहरू चोरी गर्ने कार्यमा संलग्नहरूलाई स्थानीयवासीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएका छन् ।
हिजोको आन्दोलनको क्रममा मधेश भवन भित्रका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सहित विभिन्न मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजश्व कार्यालय, जनकपुर भन्सार कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वाल्मीकि प्रहरी चौकीका आगजनी गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्