गोरखामा दैनिक गतिविधिका लागि गरिने चहलपहल ठप्प

गोरखा । गोरखामा दैनिक गतिविधिका लागि गरिने चहलपहल ठप्प रहेको छ ।
जिल्लाबाट लामो तथा छोटो दुरीका सवारी छुटेका छैनन् । सरकारी कार्यालय, बैङ्क तथा विद्यालयहरू बन्द रहेका छन् । सडकमा तीन वटा सुरक्षा निकायका सुरक्षाकर्मीहरू देखिएका छन् ।
अति व्यस्त हुने गोरखाको हरमटारी, शहिदगेट र अस्पताल चोक क्षेत्र सुनसान छ । अत्यावश्यक काम कामका सवारी भने नरोक्न नेपाली सेनाले जनाएको छ । नेपाली सेना र प्रहरीका गाडीले बाहिर ननिस्कन माइकिङ गरिरहेका छन् ।
प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको अध्यक्षतामा बिहान बसेको सुरक्षा समितिको बैठकले २६ गते बिहान ६ बजेसम्म गोरखा जिल्लाभरि कर्फ्यु आदेश जारी गरिएको छ । नेपाली सेनाले दिएको निर्देशनलाई पूर्ण पालना गर्ने प्रमुख जिल्ला अधिकारी कडरियाले बताउनुभयो ।

सरकारी कार्यालय परिसरमा सेना तथा प्रहरी तैनाथ गरिएको छ । बिहान ९ देखि ११ बजेको समयमा जिल्ला सदरमुकाममा मानिसहरूको आउजाउ बढेसँगै सेनाले माइकिङ गरेर अर्को सूचना नआउँदासम्म व्यापार व्यवसाय बन्द गर्न भन्दै सूचना दिएको थियो ।
देशको परिस्थिति अब के हुन्छ भनेर मानिसहरू अन्यौलमा नै रहेका छन् । समाचारहरूले के दिन्छन् भनेर अनलाइन, पत्रपत्रिका र टेलिभिजनतर्फ मानिसहरू झुम्मिएका छन् । सार्वजनिक सवारी नआएपछि काठमाडौँबाट आउने दैनिक पत्रिकाहरू समेत आउन सकेको छैन ।
जेनजी समूहको आन्दोलनका कारण गोरखा जिल्लामा कुनै पनि मानवीय तथा भौतिक सम्पत्तिको क्षति भने भएको छैन ।
प्रतिक्रिया राख्नुहोस्