वीरगञ्ज–रक्सौल नाका पूर्ण रूपमा बन्द
कडाइका कारण दुवै देशका नागरिकलाई आवतजावतमा रोक

वीरगञ्ज । देशको प्रमुख नाकामध्ये एक वीरगञ्ज–रक्सौल नाका गए रातिदेखि पूर्ण रूपमा बन्द भएको छ । नेपालमा हालैका घटनाक्रमलाई मध्यनजर गर्दै भारतले नेपाली नागरिकलाई भारत प्रवेशमा रोक लगाएको छ भने भारतीय नागरिकलाई समेत नेपाल प्रवेश गर्न नदिइएको छ ।
भारत प्रवेश गर्न खोजेका नेपालीहरूलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले फर्काएको छ । त्यस्तै, भारतीय नागरिकलाई आधार कार्डबिना नेपाल पस्न नदिइएको छ । हालै नेपालका विभिन्न कारागारबाट कैदीबन्दी फरार भएको घटनापछि उनीहरू सीमा हुँदै भारत पस्न सक्ने आशङ्कामा भारतले सुरक्षा सतर्कता बढाएको जनाइएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार भारततर्फबाट प्राप्त आदेशका आधारमा सीमा बन्द गरिएको हो । नेपालबाट भारततर्फ जाने मात्र होइन, भारतबाट नेपाल आउन खोज्ने नेपाली नागरिकलाई समेत रोक लगाइएको छ ।
यसबीच, गए रातिदेखि पर्सामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी संयुक्त रूपमा परिचालन भई गस्ती बढाइएको छ । वीरगञ्ज कारागार बाहेक अन्य स्थानमा सुरक्षा अवस्था सामान्य बन्दै गएको छ ।
मङ्गलबार रातिदेखि नै अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएकाले अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरिएको छ । हाल पर्सामा जनजीवन सामान्य बन्दै गएको र प्रदर्शन वा नाराबाजीका गतिविधि नभएको प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्