तपाईँ सुन्दै हुनुहुन्छः

नेपालीहरूलाई भारत प्रवेशमा रोक

धनगढी । नेपालीहरूलाई भारत प्रवेशमा रोक लगाइएको छ । कैलाली स्थित नेपाल-भारत सिमानाका गौरीफन्टा ब्यारेल बन्द गरिएको छ । भारतीय सुरक्षाकर्मीले गौरीफन्टा नाका भएर भारत जाने नेपालीहरूलाई रोकेका छन् ।

सिमानाका प्रवेशमा रोक लगाईपछि भारत जान लागेको सयौँ नेपाली अलपत्र परेका छन् । यसैगरी भारतबाट नेपाल फर्किन समेत नेपालीहरूलाई समस्या भइरहेको छ । नाका बन्द गरिपछि कयौँ नेपाली सीमावर्ती भारतीय बजारमा रोकिएको बताइन्छ। जेनजीको प्रदर्शनका कारण नेपालीहरूलाई भारत प्रवेशमा रोक लगाइएको भन्ने जानकारी आएको स्थानीय प्रहरी प्रशासनले जनाएको छ ।

यसैबिच, जेनजीको अराजक प्रदर्शनका कारण तनावग्रस्त सुदूरपश्चिम प्रदेश मुकाम धनगढी बजारमा नेपाली सेना परिचालनपछि शान्त र सामान्य चहलपहल देखिएको छ । यतिबेला धनगढीको मुख्य सडकमा नेपाली सेनाको टोली खटिएको छ । धनगढी स्थित मुख्यमन्त्री र प्रदेश प्रमुखको कार्यालय तथा सरकारी अड्डामा सेनाको उपस्थिति रहेको छ । सेनाले अत्यावश्यक काम बाहेक घर बाहिर नआउन आग्रह गरेको छ । 

सेना परिचालनपछि धनगढीमा आज जेनजीको प्रदर्शन रोकिएको छ । सर्वसाधारणको फाटफुट आवतजावत भईरहको छ । 

जेनजी प्रदर्शनकारीले धनगढीमा प्रदेश सभा भवन, मुख्यमन्त्री र प्रदेश प्रमुखको कार्यालय तथा सबै मन्त्रालय, सरकारी अड्डा, पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । प्रदर्शनकारीले कैलाली कारागारमा रहेको सबै कैदीबन्दीलाई बाहिर निकालेको स्थानीय प्रहरी प्रशासनले जनाएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले शान्ति सुरक्षा कायम राख्न जिल्लाभर निषेधाज्ञा जारी रहेको बताउनु भयो । कैलालीमा मंगलबार अपराहन्हदेखी निषेधाज्ञा जारी गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button