तपाईँ सुन्दै हुनुहुन्छः

दुई दलीय सहमतिबमोजिम संविधान संशोधन र निर्वाचन प्रणालीमा सुधार गर्छौं : प्रधानमन्त्री ओली

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दलीय सहमतिबमोजिम संविधान संशोधन र निर्वाचन प्रणालीमा सुधार गरिने बताउनुभएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी एमालेको दोस्रो विधान महाधिवेशनको अन्तिम दिन आज राजनीतिक प्रतिवेदनमाथिको समूहगत छलफलबाट आएको प्रश्न र जिज्ञासाको जवाफ दिनुहुँदै उहाँले वर्तमान सरकार सात बुँदे सहमतिको जगमा बनेकाले तिनलाई क्रमशः कार्यान्वयन गर्दै जाने बताउनुभयो । “सुशासनको प्रत्याभूति, निर्वाचन प्रणाली सुधार गर्दै अगाडि बढ्नुपर्ने छ । अनेक प्रकारका बखेडा निकाल्नेभन्दा निष्कर्षमा पुर्‍याउने गरी काम हुन्छ । समानताको आधारमा राष्ट्रिय एकता, सुशासन र विकासको काम हुन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले धेरै कुरा राजनीतिक प्रस्तावमा सविस्तार उल्लेख गरिएको भन्दै परिपक्वताका साथ काम गरिने स्पष्ट पार्नुभयो । “प्राप्त सुझावलाई ध्यान दिएर काम गर्नेछौँ ।  वर्तमान संविधान निकै मिहेनत गरेर हामीले जारी गरेका हौँ । ३१ वटा मौलिक हकका लागि हामीले पैरवी गरेका हौँ । जनताको बहुदलीय जनवादका आधारमा संविधान बनेको हो । बाटो बनाउने बेलामा विरोध हुन्छ, बाटो बनिसकेपछि त्यो बाटोमा हिँड्दिनँ भनेर कसैले भन्दैन, हामी देश, जनता र विकासको बाटोमा अगाडि बढिरहेका छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

राजनीतिक प्रतिवेदनमाथि प्राप्त प्रश्न एवं सुझावबारे धारणा राख्दै उहाँले एमालेमा हिजोको जस्तो परिस्थिति नरहेको र एमाले जबाफदेहिताको केन्द्र तथा प्रतिस्पर्धाको राजनीतिमा रहेको बताउनुभयो । “अहिले वाम एकताको नारा दिइरहेका छन् । हिजो हामीलाई सिध्याउन भनेर हिँडेका हैन ? पार्टी खिइँदै गएर दुई चार जनामा सीमित भएकाहरूलाई फेरि एकताको नारा लगाइरहेका छन् । हामीले फर्मालिन हाल्न किन जानु”, उहाँले भन्नुभयो ।

एमालेसँग गौरवपूर्ण इतिहास, भरलाग्दो वर्तमान र आशालाग्दो भविष्य रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टीविरुद्ध ‘पपुलिष्ट’ राजनीति गर्नेविरुद्ध किन बोल्न र लेख्न नसकेको भन्दै नेता तथा कार्यकर्तालाई प्रश्न गर्नुभयो । उहाँले प्रदेश तथा स्थानीय तहको नेतृत्वमा रहेका पार्टी नेताहरूलाई इमान्दारिताका साथ काम गर्न निर्देशन दिनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो,“प्रदेश र स्थानीय तहमा रहेका हाम्रा साथीहरूले कुनै खोट नआउने गरी काम गर्नुपर्छ । हामी एउटा महान् उद्देश्यमा छौँ, त्यसैले यसमा दृढ भएर काम गरौँ ।” 

उहाँले वितरणमुखी बजेटले देशको विकास नहुने भएकाले सबै क्षेत्रको विकासका लागि समुचित बजेट व्यवस्थापन गरिनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले चुरे दोहनका कारण वातावरणमा समस्या भएको भन्दै चुरे संरक्षणका लागि ठोस् राजनीतिक कदम आवश्यक रहेकाले यसका लागि नीति र कार्यक्रम बनाएर छुट्टै प्रबन्ध गरिने धारणा राख्नुभयो । 

उहाँले जनसरोकारका विषयमा महिलामाथि भइरहेका ज्यादती, युवाका चासो, किसानका माग, विद्यार्थीका आवश्यकताका विषयमा एमालेले अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले सूचना प्रविधिको जमाना भएकाले त्यसको उपयोग गर्दै आम्दानी गरेर समृद्धि हासिल गर्न लाग्नुपर्ने बताउनुभयो । “मानिसको मस्तिष्क अहिले उत्पादनको साधन भएको छ । प्रविधिसँगको पहुँच भएको व्यक्तिले विश्वस्तरमा व्यापार र उद्यम गर्न सक्छ । आज शारीरिक श्रमभन्दा मानसिक श्रम बलियो भएको छ, छोराछोरी पढाइदियो मात्रै भने पनि आज परिवार सम्पन्न हुन्छ । त्यसले समयलाई चिनेर काम गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले विकासका लागि स्थायित्व र स्थिर सरकार आवश्यक रहेको बताउनुभयो । “एमालेले दश वर्ष शासन गर्न पायो भने देशमा धेरै विकास हुन्छ । हामीकहाँ १० महिना पनि सरकार टिक्दैन, १० महिनामा त जग हालेको घर पनि पूरा भएको हुँदैन । अहिले भने मैले नै धेरै समय सरकार टिकाएको हो । त्यसैले जनसरोकारका पक्षमा काम गरौँ एमालेलाई कसैले बिर्सिँदैन”, उहाँले भन्नुभयो ।

जनसङ्गठनहरू जाग्दो र आशलाग्दो हुनुपर्ने भन्दै अध्यक्ष ओलीले एमालेले आफ्नो शक्तिलाई पनि चिन्नुपर्ने बताउनुभयो । उहाँले एमालेको सदस्यता च्यातेर देखाउनेलाई फेरि सदस्यता दिनुपर्दैन भन्दै ‘बलात्कार गर्नु र एक थप्पड हान्नु उस्तै’ भन्नेका पछाडि दौडिनुभन्दा जनताको आवश्यकतामा ध्यान दिएर लाग्नुपर्ने धारणा राख्नुभयो । 

प्रधानमन्त्री ओलीले देशभित्र आर्थिक जागरण ल्याउन प्रवासी नेपालीलाई पनि ध्यान दिन अनुरोध गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button