तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य चौकीमा औषधी अभाव: युवाहरूले थाले आर्थिक सङ्कलन अभियान  

डडेल्धुरा । डडेल्धुराको परशुराम क्षेत्रका स्वास्थ्य संस्थाहरूमा लामो समय देखि औषधीको अभाव हुँदै आएको भएपनि स्थानीय तह बेखबर बन्दै आएको छ ।

स्थानीय सरकारलाई औषधी आपूर्ति गरिदिनका लागी पटक पटक आग्रह गरिएको भएपनि औषधी प्राप्त हुन नसकेपछि स्थानीय युवाहरूले आर्थिक सङ्कलन अभियानको सुरुवात गरेका हुन । परशुराम नगरपालिकाको वडा नं. ७ अन्तर्गत रहेको साँदनी स्वास्थ्य केन्द्रमा एक महिना देखि औषधी अभाव हुँदै आएपनि स्थानीय सरकारको चासो जान नसक्दा बिरामीहरूले सामान्य उपचार सेवाबाट समेत बञ्चित हुँदै आएको स्थानीयको गुनासो छ । 

स्थानीय युवा जनकबहादुर बम र मिनबहादुर साउँद नेतृत्वको स्थानीय युवाहरूको टोलीले औषधी खरिदका लागी स्वतस्र्फुत रुपमा आर्थिक सङ्कलन अभियान सगैं वडा र परशुराम नगरपालिकालाई स्थानीयका समस्यामा गम्भीर नबनेको भन्दै दबाब स्वरूप हस्ताक्षर अभियान समेत गर्दे आएका छन् । शुक्रबार साँदनी स्वास्थ्य चौकी नजिकैको स्थानीय बजार साँदनी चनाम्मनचौराहमा भेला भएका युवा सहितका संयौं स्थानीयहरूले युवाहरूले थालेको अभियानमा ऐक्यबद्धता जाहेर गर्दे ८ हजार भन्दा बढी रकम सङ्कलन भएको र झण्डै २ सय भन्दा बढीले हस्ताक्षर अभियानमा साथ दिएका छन् ।

नागरिक यहाँ छौँ,सरकार कहाँ छौ ? भन्ने मुख्य नारा लिएर स्थानीय युवाहरूले अभियान थालनी गर्न बाध्य भएको स्थानीय युवा मिनबहादुर साउँदले जानकारी दिनुभयो । एकसाता देखि गाउँभरि भाइरलका बिरामीहरू थला परेका छन् तर स्वास्थ्य केन्द्रमा सामान्य सिटामोलको औषधी छैन । परशुराम नगरपालिकाको सबैभन्दा ठुलो वडाका रुपमा रहेको वडा नं. ७ मा दर्जनौँ गाँउबस्तीहरु छन् तर एकसाता देखि रुघाखोकी,ज्वरो,पखाला,टाइफाइड लगायतका बिरामीहरूले सामान्य उपचारका लागी पनि भारतको टनकपुर र तराईका कैलाली र कञ्चनपुरका अस्पतालहरू धाउन बिरामीहरू बाध्य भएपछि यो अभियानको थालनी गरिएको साउँदले बताउनुभयो । 

अभियानको सुरुकै दिन झण्डै आठ हजार रुपैयाँ सङ्कलन भएको सङ्कलित रुपैयाँले औषधी ल्याएर स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्ने उद्देश्य रहेको बताइएको छ । सामाजिक अभियन्ता जनक बमले वडा,स्थानीय पालिका र प्रदेश सरकार सम्म औषधीका लागी पहल गरियो कहि-कतैबाट सम्भव नभएपछि यो अभियान थाल्नुपर्ने बाध्यता आइलागेको हो । यो अभियानसंगैं स्थानीय समस्याहरूलाई बेवास्ता गर्दे आएको स्थानीय सरकारलाई थप दबाब सिर्जना गर्न र यथाशीघ्र समस्याहरू प्रति जिम्मेवार बनाउनका लागी समेत युवाहरूले हस्ताक्षर अभियान थालेको उहाँले बताउनुभयो ।

यो अभियानलाई सादनीमा मात्रै सीमित राख्दैनौँ परशुराम नगरपालिकाका सबै वडाहरू सम्म पुर्‍याउने गरि अघि बढ्छौँ बमले भन्नुभयो— यहाँकै जस्तो प्राय सबै वडाहरूको उस्तै खालका समस्या छन् । भाइरलका बिरामीहरू दिन प्रति दिन बढ्दै गइरहेको र स्वास्थ्य केन्द्रमा औषधीको अभाव रहेको साँदनी स्वास्थ्य केन्द्रका प्रमुख सङ्घर्ष धामीले बताउनुभयो । साँदनी स्वास्थ्य केन्द्रमा भाइरलका बिरामीहरू उपचारका लागी आउने गरेको भएपनि सामान्य औषधिको  अभावले उपचार गर्न निकै कठिनाइ भइरहेको धामीले बताउनुभयो । 

उता परशुराम नगरपालिका स्वास्थ्य शाखा प्रमुख हिक्मत बहादुर धामीले स्वास्थ्य संस्थाहरूमा औषधीको अभाव देखिएको भएपनि परपुर्ति गर्न समस्या आइरहेको बताउनुभयो ।

बजेट कार्यान्वयनमा आईनसकेको र स्टोरमा औषधी नभएका कारण स्वास्थ्य चौकीहरूमा औषधी पठाउन नसकिएको स्वीकार गर्नुहुँदै प्रमुख धामीले परशुराम नगरपालिकामा प्रशासकीय अधिकृत फेरिएको अवस्था छ भने अर्कोतिर बजेटको सुनिश्चितता नभएका कारण औषधी खरिद गर्न नसकिएको बताउनुभयो । औषधी अभाव भएसंगैं भाइरलका बिरामीहरू देखा पर्न थालेको जानकारीमा आएपनि औषधी परिपूर्ति गराउन पहल भइरहेको प्रमुख धामीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button