८ करोड ५० लाख रुपैयाँ भन्दा बढीको अलैँची निकासी
धनकुटा । गत आर्थिक बर्ष २०८१/८२ मा धनकुटाबाट ८ करोड ५० लाख मूल्य भन्दा बढीको बराबरको अलैँची निकासी भएको छ । खोल्साको कालो सुनको नामले परिचित मसलाजन्य वाली अन्तर्गत पर्ने अलैँची खेती आर्थिक बर्ष २०८१/८२ मा धनकुटाको १ सय २७ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ४० मेट्रिकटन अलैँची उत्पादन भएको र त्यसबाट ८ करोड ५० लाख ६३ हजार ७ सय ५० रुपैयाँ मूल्य बराबरको अलैँची निकासी भएको कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्क उल्लेख छ।

धनकुटामा उत्पादन भएको अधिकांश अलैँची जिल्ला बाहिर निकासी हुने गरेको छ। पछिल्लो समय अलैँचीको मूल्य बढ्दा किसान समेत बंगैचा व्यवस्थापनमा सक्रिय बन्दै गएको र त्यसले रोग किराबाट सखाप बनेका बगान समेत पुन उत्पादन दिने अवस्थामा विकास हुँदै गएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले जानकारी दिनुभयो। विदेशी मुद्रा भित्राउने महत्वपूर्ण बाली अलैँची भएकोले यसको व्यावसायिक खेती गर्ने किसान लाई बैंकिङ्ग ऋण तथा अनुदान बजार र रोग/किरा व्यवस्थापनको कार्य सरकारले गरिदिनु पर्ने किसानको माग छ।

अलैँचीको मूल्य बढेपछि धनकुटाका किसान तथा व्यापारी खुसी भएका छन्। अहिले धनकुटामा करिब १ दशक पछि अलैँचीको मूल्यमा व्यापक सुधार भई प्रतिमन ७५ हजार देखि ९५ हजार रुपैयाँ हाराहारी मूल्य पुगेको छ। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा ५ दशमलव २ मेट्रिक टन तथा निर्यात मूल्य १ करोड ४ लाखले वृद्धि भएको ज्ञान केन्द्रले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्