तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा सहकारी ठगीका तीन जना पक्राउ

नेपालगञ्ज । अदालतको फैसला कार्यान्वयन टोलीले बाँकेमा सहकारी ठगीका तीन जनालाई पक्राउ गरेको छ ।

नेपालगञ्जको सहकारी वित्तीय विकास संस्थामा ३७ करोड बढी रकम हिनामिना गरेको विषयमा दुई तहको अदालतले फैसला गरेसँगै सहकारीका अध्यक्ष हरदेवबक्स चौधरी, सिद्धिकुमार महर्जन र सुरत खटिकलाई पक्राउ गरिएको छ । अध्यक्ष चौधरीलाई ५ वर्ष कैद र ५० हजार जरिवाना तोकिएको छ । उनी यस अघि १ वर्ष कैद बसेर २५ लाख धरौटीमा छुटेका थिए । जिल्ला अदालतको फैसलालाई उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले सदर गरेसँगै चौधरी, महर्जन र खटिक पक्राउ परेका हुन् । 

अदालतले सहकारी घोटालामा १९ जनालाई कसुरदार ठहर गरेको छ । त्यस मध्येमा ७ जनाले कैद र जरिवाना तिरिसकेका छन्, अरू फरार रहेका छन् । कैद र जरिवाना काटेकासँग पनि बिगो भराउन बाँकी रहेको छ । अदालतले कसुरदारलाई कैद, जरिवाना र बिगोको सजाय सुनाएको छ । २०७६ असोज २८ गते जिल्ला अदालतमा सहकारी ऐन, ठगी र सङ्गठित अपराधमा मुद्दा परेको थियो । २०८० पुस २६ गते जिल्ला न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले ४१ जना मध्ये १९ जनालाई कसुरदार ठहर गरेको थियो । 

२०८२ ज्येष्ठ १४ गते उच्च अदालतले जिल्लाको फैसलालाई सदर गर्दै जिल्ला प्रशासनको नेतृत्वमा पीडित पक्ष ५ जनासहित विभिन्न निकायका प्रतिनिधि रहने गरी सहकारी सञ्चालक टोली बनाउने र त्यसले विशेष साधारण सभा बोलाउन आदेश दिएको पीडित सङ्घर्ष समितिका सहसंयोजक आशुतोष शुक्लाले जानकारी दिनुभयो । जिल्लाको ठूलो मध्येको यो सहकारीमा १२ हजार ८ सय ४ जना बचतकर्ता छन् । त्यसमध्ये १ हजार ५ सय ६ जनाले जिल्ला प्रहरी कार्यालयमा सनाखतनै गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button