पेरिसमा सुरक्षा प्रत्याभूति विषयमा युरोपेली नेताहरूसँग राष्ट्रपति जेलेंस्कीको उच्चस्तरीय भेटवार्ता
किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले युरोपेली नेताहरूसँग पेरिसमा उच्चस्तरीय छलफल गर्नुहुने भएको छ। उहाँको कार्यालयका अनुसार, उक्त भेटवार्तामा रसियासँग सम्भावित शान्ति सम्झौता भएपछिको अवस्थालाई ध्यानमा राखी युक्रेनको दीर्घकालीन सुरक्षा प्रत्याभूतिका विषयमा विचार विमर्श गरिनेछ।
राष्ट्रपति जेलेंस्कीले युरोपेली सङ्घकी अध्यक्ष उर्सुला भन डेर लेयेन, नेटो महासचिव मार्क रुटे, जर्मन चान्सलर फ्रेडरिक मर्ज र बेलायती प्रधानमन्त्री कीयर स्टारमरसँग ‘युक्रेनका लागि विश्वसनीय सुरक्षा प्रत्याभूति’ सम्बन्धमा विस्तृत छलफल गर्नुहुनेछ। उक्त जानकारी राष्ट्रपति कार्यालयका सल्लाहकार मिखाइलो पोडोल्याकले सामाजिक सञ्जालमार्फत दिनुभएको हो।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ र बेलायती प्रधानमन्त्री स्टारमरले संयुक्त रूपमा वार्ताको अध्यक्षता गर्नुहुनेछ। उहाँहरूले ‘इच्छुक राष्ट्रहरूको गठबन्धन’ मार्फत युरोपेली स्तरमा युक्रेनलाई भावी सम्भावित आक्रमणबाट सुरक्षित राख्न सकिने व्यावहारिक प्रस्तावहरू तयार पार्ने उद्देश्य राख्नुभएको छ।
युक्रेनले नेटो सदस्यता तत्काल सम्भव नभएमा, नेटो जस्तै सुरक्षा प्रत्याभूति तथा युरोपेली शान्ति सेनाको समर्थनमा जोड दिँदै आएको छ।
यसबीच, रुसले भने युक्रेनमा कुनै पनि पश्चिमी सैनिकको उपस्थिति स्वीकार गर्न नसकिने अडान पुनः दोहोर्याएको छ। रासस








प्रतिक्रिया राख्नुहोस्