तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र पिएसवी नेपालबिच कार्यसम्पादन सम्झौता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सार्वजनिक सेवा प्रसारण पिएसवी नेपालबिच आज कार्यसम्पादन सम्झौता भएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज एक कार्यक्रमबिच मन्त्रालयका सचिव राधिका अर्याल र सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारण नेपालले चालु आर्थिक वर्षभित्र गर्ने मुख्य काम र हासिल गर्नुपर्ने उपलब्धि सम्बन्धी कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । 

सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले लक्ष्य तोकिएका कार्यहरू समयमै सम्पन्न गरी वार्षिक लक्ष्यमा उत्कृष्ट नतिजा हासिल गर्ने गरी कार्यसम्पादन गर्न आग्रह गर्नुभयो । 

मन्त्री गुरुङले कार्यसम्पादन सम्झौता अनुसार निश्चित योजना र साझा लक्ष्यका साथ काम गरी परिणाम निश्चित गर्नमा जोड दिनुभयो । 

यस्तै मन्त्रालयका सचिव राधिका अर्यालले सम्झौतामा तोकिएका कामहरूलाई प्राथमिकता दिँदै संस्थागत हित हुने अन्य योजनाहरू अघि बढाउन पनि सुझाव दिनुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपाल पिएसवीका अध्यक्ष डा. महेन्द्र विष्टले एनटिभी वर्ल्ड सञ्चालनसँगै लक्ष्य अनुरूपका काम सुरु भइसकेको भन्नुहुँदै प्रशासनिक, प्रविधिगत र विषयवस्तुगत तहमा नतिजामुखी काम गर्ने गरी अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । 

चालु आर्थिक वर्षका लागि तोकिएका वार्षिक लक्ष्य हासिल गर्ने गरी कार्यसम्पादन सफल गर्न मन्त्रालयले र मातहतका निकायहरूसँग कार्यसम्पादन सम्झौता गर्ने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button