कर्णाली राजमार्ग अवरुद्ध हुँदा १३ करोड बराबरको स्याउ अलपत्र
जुम्ला । अविरल वर्षापछि आएको भीषण ढुङ्गा सहितको पहिरोले कर्णाली राजमार्ग तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ । भदौ १४ गते बिहान ९ः४५ बजेदेखि कर्णाली राजमार्ग अन्तर्गतको गगने खोलामा भएको अवरुद्ध अझै खुलेको छैन ।

तीनदेखि सडक पूर्ण रूपमा अवरुद्ध हुँदा जुम्लाबाट स्याउ बोकेर गएका ट्रक बाटोमा अलपत्र परेका छन् । गगने खोलामा ठुला ठुला ढुङ्गा आएको र ब्रेकरले पनि ढुङ्गा फुटाउन सम्भव नभएपछि ब्लाष्टिङ गर्ने तयारी भइरहेको छ ।
सडक अवरुद्ध भएपछि जुम्लाबाट स्याउ बोकेर गएका २३ वटा ट्रक बाटोमै रोकिएका छन् । तीनदेखि ट्रक बाटोमै रोकिएपछि करोडौँ रुपैयाँ पर्ने स्याउ कुहिने जोखिम बढेको छ । विगतको तुलनामा यस वर्ष ढिला ग्लुकोजको मात्र भरिएको र पाकेको स्याउ निर्यात भएकाले निर्बाध रूपमा गन्तव्य पुग्न नसकेमा स्याउ कुहिने जोखिम बढ्ने कृषि विज्ञहरूको भनाइ छ ।
सीमावर्ती क्षेत्र नाग्म प्रहरी चौकीको रेकर्ड अनुसार भदौ १४ गतेदेखि १६ गते बिहानसम्म २० वटा स्याउ ट्रक जुम्लाबाट गएका छन् । नाग्म प्रहरी चौकीका असई यम शर्माका अनुसार भदौ १४ गते ८ वटा, भदौ १५ गते ११ वटा ट्रक र भदौ १६ गते ४ वटा गरी जम्मा २३ वटा ट्रकले बोकेर लिएको बोकेर गएको असई शर्माले जानकारी दिनुभयो ।
तीन दिनदेखि सडक अवरुद्ध भएपछि झन्डै १३ करोड बराबरको स्याउ बाटोमै थन्किएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्