तपाईँ सुन्दै हुनुहुन्छः

युवापुस्तालाई उद्यमशीलतामा आकर्षण गर्न बैङ्कले सरल नीति ल्याउनुपर्छ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नयाँ पुस्तालाई उद्यम व्यवसायमा आकर्षण गर्न बैङ्क तथा वित्तीय संस्थाले आफ्ना नीतिमा सरलीकृत गर्नुपर्ने बताउनुभएको छ । 

कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेशस्तरीय बैङ्क तथा वित्तीय संस्थाहरूसँगको छलफल कार्यक्रममा उहाँले युवालक्षित आकर्षणका कार्यक्रमले रोजगारी सिर्जना हुने बताउनुभयो । 

कर्णालीबाट रोजगारीका लागि विदेशिने जनशक्तिलाई प्रदेशमै उद्यम व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने सोचको विकास गराउनेतर्फ बैङ्कहरूले वित्तीय साक्षरता कार्यक्रम चलाउन पर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सेवाग्राही बैङ्क खोज्दै होइन तपाईँहरू सेवाग्राही खोज्दै जानुस् । उद्यम व्यवसायमा जति लगानी बढायो त्यति नै आर्थिक क्षेत्र चलायमान हुन्छ, बैङ्कहरूले सेवाग्राहीको पहुँचलाई सरलीकृत बनाउँदै लैजानु पर्दछ ।

मुख्यमन्त्री कँडेलले चालु आर्थिक वर्षदेखि ब्याज अनुदानको कार्यक्रमका क्षेत्रलाई विस्तार गरिएको उल्लेख गर्नुभयो । 

अन्तरक्रियामा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव यज्ञ पुरीले प्रदेश सरकारबाट बैङ्कहरूमार्फत कार्यान्वयन हुने ब्याज अनुदान तथा कार्यक्रमहरू बारे जानकारी गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button