तपाईँ सुन्दै हुनुहुन्छः

‘सत्सङ्गले समाजको विकृति विसङ्गति हटाउन मद्दत गर्छ’

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजमा विकृति विसङ्गति हटाएर सद्भाव सिर्जना गर्न सत्सङ्गले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राख्नुभएको छ । 

काठमाडौँ महानगरपालिका–१० मध्यबानेश्वरस्थित कवीर सत्सङ्ग आश्रम ट्रष्ट नेपालको नवनिर्मित भवन उद्घाटनपछि मन्त्री सिंहले अहिलेको अवस्थामा समाजमा सहकार्य र सद्भाव जरुरी रहेको बताउँदै सत्सङ्गले मानिसलाई सकारात्मक काममा केन्द्रित गराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सत्सङ्ग र सन्तलाई बस्ने, खाने, ध्यान गर्ने केन्द्रको सुविधाका लागि सबैले आफूले सक्ने सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । भवन निर्माणप्रति आफू पनि सकारात्मक रहेको उहाँको भनाइ छ ।

बागमती प्रदेशका सांसद एवं पूर्व मन्त्री दीपेन्द्र श्रेष्ठले जीवनलाई सही दिशातर्फ डोर्‍याउन सत्सङ्ग अत्यन्त जरुरी रहेको अनुभव सुनाउनुभयो । काठमाडौँ महानगरपालिका–१० मा रहेको कवीर सत्सङ्ग आश्रममा आफू सानैदेखि ध्यान कर्म गर्दै र कविरका सत्य वचन सुन्दै आएको बताउँदै सांसद श्रेष्ठले सन्तको व्यवस्थापनमा भवन बनेकोमा खुसी व्यक्त गर्नुभयो ।

काठमाडौँ महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार केसीले टोल र समाजमा सद्विचारको प्रवाह गर्न आश्रम प्रभावकारी स्थल रहेको बताउनुभयो । आश्रमका प्रमुख आदर्श दासले विसं २०५३ मा कवीर सत्सङ्ग आश्रम ट्रष्ट नेपालको स्थापना भएको बताउँदै भवन निर्माण भएपछि देश विदेशबाट आउने सन्त गुरु र भक्तजनलाई ध्यान, भजन, अध्ययन र विश्राम गर्न सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सत्सङ्ग जहाँ छन्, त्यहाँ शुभ हुन्छ । सोही विश्वासअनुसार सबै सत्सङ्गमा लाग्नुपर्छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button