तपाईँ सुन्दै हुनुहुन्छः

विद्यार्थीको अभावमा सल्यानमा प्राविधिक शिक्षालय बन्द हुँदै

सल्यान । विगतमा विद्यार्थीदेखि अभिभावकसम्मको चासो र छनौटको विषय हुने गर्दथ्यो प्राविधिक शिक्षा । तर पछिल्लो समय प्राविधिक शिक्षा पढेर बेरोजगार बन्न पर्ने, युवा पुस्ता प्लस टु पास गर्ने बित्तिकै उच्च  शिक्षा अध्ययनका लागि विदेश पलायन हुने जस्ता कारण प्राविधिक धारका विद्यालयले विद्यार्थी पाउन मुस्किल हुन थालेको छ । 

जिल्लामै प्राविधिक शिक्षाको अवसर उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा आएका सल्यानका प्राविधिक धारका कक्षाहरू बन्द हुने अवस्थामा पुगेका छन् । 

जिल्लामा सीटीईभीटी, आङ्गिक तथा विभागीय मान्यता प्राप्त  र एक निजीसहित १६ वटा प्राविधिक धारका कक्षा सञ्चालनमा छन् । तर विद्यार्थी अभावका कारण केही धारहरू बन्द भइसकेका छन् भने केही बन्द हुने अवस्थामा पुगेका छन् । सीटीईभीटीबाट मान्यता पाएका ५ विद्यालयमा त विद्यार्थी भर्ना नै नभएर पठनपाठन रोकिएको छ ।

विद्यार्थीलाई रोजगारीमा जोड्ने उद्देश्यले २०७५ सालमा स्थापना भएको नेत्रलाल बहुप्राविधिक शिक्षालयले विद्यार्थी पाउन सकिरहेको छैन । सीटीईभीटीको आङ्गिक शिक्षालयका रूपमा स्थापना भएको यस संस्थामा सुरुका वर्षहरूमा बाहिरी जिल्लाबाट पनि विद्यार्थी अध्ययन गर्न आउन गरेको भएता पनि पछिल्ला दुई वर्षमा विद्यार्थी सङ्ख्या घटेको नेत्रलाल बहुप्राविधिक शिक्षालयका प्रमुख अर्जुन श्रेष्ठले बताउनुभयो  । 

सिभिल इन्जिनियरिङ र भेटेनरीमा ४८÷४८ जनाको कोटा रहे पनि यस वर्ष सिभिल इन्जिनियरिङमा १९ जना र भेटेरिनरीमा १६ जनाले मात्र आवेदन दिएका छन् । भर्ना अभियान चलाइए पनि विद्यार्थी पाउन नसकेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “पछिल्लो समय प्लस टु अध्ययन पछि विदेश जाने ट्रेन बढी रहेकाले पनि विद्यार्थी पाउन मुस्किल भइरहेको छ ।”

२०६९ सालदेखि सीटीईभीटीबाट सम्बन्धन लिई तीन वर्षे डिप्लोमा अन्तर्गत आईएससी एजी, वन विज्ञान, कृषि जेटीए र भेटेरिनरी जेटीए कार्यक्रम सञ्चालन गरि रहेको शारदा नगरपालिका १ शिवजन मावि शीतलपाटीको अवस्था पनि उस्तै छ ।  विद्यार्थी नपाएकाले दुई वर्षयता तीन वर्षे कार्यक्रम बन्द गरिएको शिवजन माध्यमिक विद्यालय शिलतपार्टीका प्रधानाध्यापक जीवनकुमारी रावतको भनाई छ । विद्यार्थीलाई कान्सिलिङ गर्दा अभिभावकहरूलाई भिजिट गराउँदा समेत कोटा अनुसारको विद्यार्थी पाउन नसकिएको उहाँले बताउनुभयो ।  

यस वर्ष १८ महिने कृषि जेटीएमा १९ र भेटेरिनरी जेटीएमा ११ जनाले मात्र आवेदन दिएका छन् । सीटीईभीटीअन्तर्गत बालीविज्ञान र पशु विज्ञान कार्यक्रम चलाएको शारदा मावि शंखमूलले पनि दुई वर्षदेखि भर्ना लिन सकेको छैन । रोल्पा रुकुम, जाजरकोट लगायतका जिल्लामा समेत पुग्दा समेत विद्यार्थी पाउन नसकेको प्रधानाध्यापक जित बहादुर भण्डारीले बताउनुभयो । 

सल्यानमा सञ्चालनमा रहेका १६ प्राविधिक धारमध्ये ८ वटा कक्षा ९ देखि १२ सम्मका छन् । जसलाई शिक्षा विभागले मान्यता दिएको छ । बाँकी ६ विद्यालय सीटीईभीटीको सम्बन्धन प्राप्त हुन् । 

यीमध्ये ५ विद्यालयमा विद्यार्थी अभावका कारण पठनपाठन बन्द छ । यस्तै, सीटीईभीटी अन्तर्गतको एक निजी र एक आङ्गिक शिक्षालयमा पनि विद्यार्थी पाउन मुस्किल छ । शिक्षा विभागअन्तर्गतका कक्षा ११–१२ का धारहरूसमेत विद्यार्थी सङ्ख्या घट्दो क्रममा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button