‘पुनर्जन्मका विषयमा गहिराइमा पुगेर बहस हुनुपर्छ’
काठमाडौँ । नेपालमा मानिने प्रमुख धर्महरूले पुनर्जन्मलाई मानेकाले यस विषयमा गहिराइमा पुगेर बहस गरिनुपर्नेमा जोड दिइएको छ ।
नेपाल समाज मिडिया प्रालिले आज आयोजना गरेको ‘नेपालका धर्ममा पुनर्जन्मको अवधारणा’ विषयक अन्तरक्रियामा वक्ताहरूले प्राचीनकालमा भारतवर्षका नालन्दा, तक्षशिला र विक्रम शिलालगायत विश्वविद्यालयमा यस्ता विषयमा शास्त्रार्थ हुने गरेको स्मरण गर्नुभयो ।
कार्यक्रममा हिन्दू जागरणका संस्थापक अध्यक्ष आचार्य रामकृष्ण उपाध्यायले वैदिक दर्शनमा पुनर्जन्मको धारणामाथि विचार राख्नुभएको थियो ।
शुक्ल यजुर्वेदको तेस्रो अध्यायको ३५औँ मन्त्रमा सूर्य जसरी अस्ताएर फेरि उदाउँछ त्यसरी नै मानिसको पनि पुनर्जन्म हुने विषयको व्याख्या गरिएको उहाँले जानकारी गराउनुभयो । वेदका साथै रामायण, महाभारतलगायत ग्रन्थमा पनि पुनर्जन्मका विषयमा धेरै चर्चा गरिएको उपाध्यायले सुनाउनुभयो ।
लेखक वसन्त महर्जनले बौद्ध धर्मको थेरावादमा पुनर्जन्मको अवधारणा विषयमा विचार राख्दै धेरै पुण्य गर्ने मानिस अर्को जन्ममा पनि मान्छे नै भएर जन्मने विषय उल्लेख गरिएको जानकारी दिनुभयो । कर्म सिद्धान्तका आधारमा पुनर्जन्म निर्धारण हुने थेरावादको मत रहेको उहाँले सुनाउनुभयो ।
नेपाल बौद्ध महासङ्घका पूर्व अध्यक्ष आचार्य नोर्बु शेर्पाले गुरु रिम्पोछे नै पुनर्जन्मको उदाहरणका रूपमा रहनुभएको बताउनुभयो । कर्म र क्लेशका आधारमा पुनर्जन्मपछिको अवस्था कस्तो हुन्छ भनी निर्धारित हुने विषय महायानका अभिधर्मकोशलगायत ग्रन्थमा वर्णन गरिएको उहाँले उल्लेख गर्नुभयो । मानिसमा पूर्वजन्मदेखिकै चित्तधारा बगिरहेको हुने विषय पनि त्यस्ता ग्रन्थमा लेखिएको शेर्पाको भनाइ थियो ।
श्री बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मोहनकुमार तामाङले पुनर्जन्म सम्बन्धमा नेपालमा अभ्यासमा रहेका मुख्य धर्मका आचार्य गुरुहरूबाट धेरै विषय प्रस्तुत भएकाले आगामी दिनमा विस्तारमा यससम्बन्धी कार्यक्रम राख्न सुझाव दिनुभयो । नेपालमा मानिने मुख्य धर्म हिन्दू र बौद्धमा पुनर्जन्मलाई माने पनि ती दुवैमा भएका भिन्नताका बारेमा पनि प्रष्ट हुने आवश्यक रहेको भनाइ विचार थियो ।
नेपाल बौद्ध महासङ्घका संस्थापक अध्यक्ष खेन्पो ग्यूर्मे छुल्ट्रिमले पूर्वीय दर्शन क्षेत्रका चार्वाकबाहेक सबै पूर्वदार्शनिकले पुनर्जन्मलाई मानेर आएको बताउनुभयो । हिन्दू र बौद्ध दुवैले पुनर्जन्मलाई माने पनि परिभाषाको मतमा भने केही भिन्नता रहेको उहाँले जानकारी गराउनुभयो ।
आयोजक समितिका अध्यक्ष ध्रुव पौडेलले पुनर्जन्मसम्बन्धी विषयका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्