सेवा निवृत्तिपछि ड्रागन खेतीमा रमाउँदै त्रिपाठी
गण्डकी । साढे तीनदशक सरकारी जागिरमा समय बिताएर सेवा निवृत्त भएका भित्रलाल त्रिपाठी यतिखेर ड्रागन फ्रुटखेतीमा लाग्नु भएको छ । सेवा निवृत्त जीवनलाई सक्रिय बनाउने दृढताका साथ उहाँ व्यावसायिक ड्रागन खेतीमा लाग्नु भएको हो ।

सङ्घीय सडक तथा सुपरिवेक्षण अनुगमन कार्यालयबाट सेवा निवृत्तिभरण हुनुभएका त्रिपाठीले पोखरा महानगरपालिका–२५ हेमजाको फुर्केटारीस्थित वर्षौँदेखि बाँझिएको भिरालो पाखोमा व्यावसायिक ड्रागन खेती गर्नुभएको छ ।
जङ्गलको छेउमा अमेरिका, इन्डोनेसिया, थाइल्याण्ड, भियतनाम, मलेसिया, थाइल्याण्ड, ताइवान, भारतको तामेलनाडु लगायतका विभिन्न देशबाट ल्याएका ९० भन्दाबढी प्रजाति ड्रागन फलका बिरुवाले फल दिन थालेको उहाँले बताउनुभयो ।
पारिवारिक घुमफिरका लागि अमेरिकामा जाँदा ड्रागन फलको स्वाद पाएपछि फर्कँदा ल्याएको एउटा बिरुवा गमलामा रोपेको बताउँदै उहाँले भन्नुभयो, “राम्रो उत्पादन दिएपछि आप्mनो वर्षौँदेखि बाँझिएको जग्गामा व्यावसायिक ड्रागन खेती सुरु गर्ने प्रेरणा श्रोत हो । ”
समुन्द्री सतहदेखि ११०० मिटरको उचाइ, ३ देखि ३२ डिक्री तापक्रम, तीनदेखि चार हजारसम्म मिलिमिटर औषत वर्षा रहेको सो १० रोपनी जग्गामा लगाएका दुई हजार बिरुवाले फल दिन थालेको फुर्केटारी एग्रो (ड्रागन फ्रुटस) फर्मका प्रोप्राइटर समेत रहनुभएका कृषक त्रिपाठी बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “२०८० वैशाख १२ गते विधिवत् रूपमा फुर्केटारी एग्रो(ड्रागन फु्रटस)फर्म दर्ता गरेर सुरु गरेको व्यावसायिक ड्रागन खेतीले पहिलो वर्षबाटै उत्पादन दिन सुरु गरेको हो ।”
यस वर्ष उत्पादन राम्रो भएको छ, आफूले खाएर, इष्टमित्रलाई चखाएर पनि दुई लाखभन्दा बढीको ड्रागन फल बिक्री गरेको उहाँले बताउनुभयो । उत्पादित फल फर्मबाटै प्रतिकेजी ५०० का दरले बिक्री हुने गरेको छ ।
खरिदका लागि ग्राहक फर्मै आउनुहुन्छ आफै टिप्नु हुन्छ र तौलेर लैजानले गरेको बताउँदै त्रिपाठी भन्नुहुन्छ उत्पादित फल पोखरा बजार मुलुकका विभिन्न सहरलगायत अमेरिका र भारतमा समेत पठाएको उहाँको भनाइ छ । उहाँले फर्म सुरु गर्नुभन्दा पहिलो एक हजार छ सय डलर तिरेर भियतनामको एक ड्रागन फर्ममा एक हप्ते तालिमसमेत लिएको अनुभव सुनाउनुभयो ।
“उत्पादित फल बिक्री हुँदैन कि भन्नु पर्दै ड्रागनका पारखी फर्मै आउनु हुन्छ” उहाँले भन्नुभयो, बजारको मागअनुसारको फल पु¥याउन सकेको छैन । बढीमा एकै दिनमा ६० केजीसम्म उत्पादन हुने गरेको छ । ड्रागनले रोपेको पहिलो वर्षमा फल्ने र लगातार २० वर्षसम्म उत्पादन दिने गर्दछ ।
त्रिपाठीले भन्नुभयो, फर्ममा अहिलेसम्म ५० लाख खर्च भइसकेको छ भने कृषि ज्ञान केन्द्र कास्कीबाट आर्थिक वर्ष २०८१ ०८२ मा चार लाख ७६ हजार ९८५ रुपैयाँ बरावरको आर्थिक एवम् प्राविधिक सहयोग प्राप्त भएको थियो ।
पक्की पिलरमा फलामे ट्रष्ट लगाएर निर्माण गरिएको फर्ममा यतिखेर लटरम्म ड्रागन फलेको छ, हिंउदको समयमा पर्ने असिनाबाट बोट र फल जोगाउनका लागि उहाँले जाली राख्ने फ्रेम समेत निर्माण गर्नुभएको छ ।
फर्मभित्र केही महिनाअघि दुईवटा बाँदर पसेका थिए, घुमेर फर्किए बोटमा काँडा भएको कारण फल खाने आट गर्न सकेनन् । देशै भरी बाँदरको आतङ्कका कारण बाँझिएको जग्गामा यस्ता खेतीलाई जोड दिनु उपयुक्त हुने उहाँको सुझाव रहेको छ ।
जग्गा बाँझो नराखौँ भन्ने अभियानमा जुट्नुभएका त्रिपाठीले ड्रागनको फल मात्र नभई बिरुवासमेत बिक्री गर्दै आउनुभएको छ । एउटा बिरुवा रु २०० देखि एक हजारसम्ममा बिक्री गर्दै आएको रासससँग कुरा गर्दै उहाँले थप्नुभयो, फुर्केटारी ड्रागन फर्मका बिरुवा नेपालको विभिन्न स्थानसहित भारतको दार्जिलिङसम्म पुगेका छन् । बिरुवा बिक्रीबाट पनि राम्रो आम्दानी हुने गरेको छ ।
फर्ममा एउटा फलको तौल ४०० ग्रामदेखि एक किलो ३२ ग्रामसम्मको फलेको बताउँदै उहाँले सरकारी सेवाबाट निवृत्तिभरण भई सके पछिको समय अनावश्यक रूपमा खर्च गर्नुभन्दा कृषि कर्ममा लाग्दा अत्यन्त खुशी लागेको बताउनुभयो । फर्ममा दैनिक दुई देखि पाँच जनाले रोजगारीसमेत प्राप्त गरेका छन् ।
पोखरा–२५ का वडाअध्यक्ष मोतिलाल तिमिल्सिनाका अनुसार आलु गाउँले परिचित हेमजामा पछिल्लो समय कृषक ड्रागन खेतीतर्फ आकर्षित हुँदै गएको बताउनुभयो । फुर्केटारी एग्रो फर्मले ड्रागन फल उत्पादनका साथै गुणस्तरलाई जोड दिँदै आएको कारण यो क्षेत्र पछिल्लो समय ड्रागनको रूपले परिचित हुँदै गएको उहाँको भनाइ रहेको छ ।
पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले फुर्केटारी एग्रो फर्मको स्थलगत अध्ययन गरेको जनाउँदै मुलुकमा ड्रागन खेती विस्तार हुने क्रम बढेपनि पुर्केटारीमा उत्पादित फल स्वादिष्ट भएको बताउनुभयो ।
बालबालिका र ज्येष्ठ नागरिकसमेतलाई खान रुचाउने नरम प्रकृतिको ड्रागन फलमा पानी, प्रोटिन, खरानी, चिल्लो पदार्थ, रेसा, क्यारोटिन, क्याल्सियम फोसफोरस, फलाम, भिटामिन वान, भिटामिन बिटु, भिटामिन बिथ्री, भिटामिन सी, थायमिन र नियसिनलगायतका तत्त्व पाइने कृषि विज्ञको धारणा छ ।
प्रतिक्रिया राख्नुहोस्