विषादी परीक्षण प्रयोगशाला भवन चार वर्षदेखि प्रयोगविहीन
सल्यान । कर्णाली प्रदेश सरकारले विषादी परीक्षणका लागि बनाइएका भवन अलपत्र परेका छन् ।
प्रदेश सरकारले सल्यानको कपुरकोट र सुर्खेतको छिन्चुस्थित हर्रेमा प्रविधि सहितको विषादी परीक्षण प्रयोगशाला सञ्चालन गर्ने योजनासहित निर्माण गरेका भवन प्रयोगमा नआई अलपत्र परेका हुन ।

प्रदेश भित्रिने र बाहिरिने तरकारी, फलफूल तथा मासुजन्य बस्तुहरूको विषादी परिक्षण गर्ने उद्देश्य सहित २०७७ सालमा कपुरकोट र हर्रेमा प्रयोगशाला भवन निर्माण गरेको थियो । तर प्रदेश सरकारले प्रयोगशाला भवन सञ्चालनमा ल्याउन नसक्दा भवन पनि अलपत्र परेका हुन । प्रयोगशाला सञ्चालन नभएकै कारण विषादी परीक्षण गर्न नपाउँदा कपुरकोटमा उत्पादित तरकारीलाई ब्रान्डिङ्ग गर्न सकिएको छैन ।
यस्तै प्रदेश सरकारले कपुरकोट र हर्रेमा तथ्याङ्क व्यवस्थापन प्रविधि राख्ने तयारी पनि गर्यो । सल्यान कपुरकोटमा २ जना कर्मचारी पनि पठाइसकेको छ । तर, ती कर्मचारी कामविहीन बनेका छन् । मन्त्रालयले प्रयोगशालाका लागि करिब ४ वर्षअघि ३५ लाख रुपैयाँमा उपकरण पनि खरिद गरेता पनि उक्त उपकरणले तत्काल रिपोर्ट दिन नसक्ने भन्दै एकीकृत कृषि प्रयोगशाला सुर्खेतमा थन्काइएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि प्रयोगशालाले गत आर्थिक बर्ष ०८१/८२ मा पुनः बजेट विनियोजन गरेर थप उपकरण खरिद गरेको छ, ती उपकरण पनि प्रयोगशालामै थन्किएका छन् ।
किसानलाई विषादी प्रयोगको उचित ज्ञान छैन । प्रयोगशाला सञ्चालन हुनसके विषादी प्रयोगसम्बन्धी सचेतना पनि बढ्ने अपेक्षा थियो । बेमौसमी तरकारी उत्पादनमा प्रख्यात सल्यानको कपुरकोटबाट वार्षिक ५२ करोडभन्दा बढीको तरकारी बिक्री हुन्छ भने बाहिरबाट पनि तरकारी, फलफूल र खाद्यान्न जिल्लामा भित्रिन्छ ।
विषादी प्रयोगशाला सञ्चालनमा नआउँदा तरकारी तथा फलफूलमा विषादी मात्रा पुष्टि गर्न समस्या भएका कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माण भएको लामो समय भइसकेको छ, तर सञ्चालनमा आउन सकेको छैन । प्रदेश सरकारले कर्मचारी पठाएको, तर उपकरण नपठाउँदा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘कपुरकोटमा विषादी परिक्षण गर्ने भनेर प्रयोगशाला भवन पनि बन्यो, सञ्चालनमा ल्याउनको लागि धेरै पहल पनि गरियो, तर प्रदेश सरकारले ध्यान दिन सकेन, विषादी प्रयोगशाला सञ्चालनमा ल्याएमा यहाँ तरकारी ब्रान्डिङ्ग गर्न सकिने थियो ।’
कर्णाली प्रदेशको एकीकृत कृषि प्रयोगशालाका अनुसार भवन निर्माण भए पनि बजेट तथा जनशक्ति नहुँदा प्रयोगशाला सञ्चालन हुन नसकेको हो । प्रयोगशालाका प्रमुख वरिष्ठ कृषि अर्थ विज्ञ चित्रबहादुर रोकायले उपकरण खरिद भएपनि सञ्चालन गर्ने जनशक्ति र बजेट अभाव भएको बताउनु भयो । कार्यालयले मन्त्रालयसँग बजेट र जनशक्ति व्यवस्थापनका लागि आग्रह गरिएको बजेट व्यवस्थापन हुने बित्तिकै सञ्चालनमा आउने बताउनुभयो ।
यता कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता बखत बहादुर खड्काले प्रयोगशाला सञ्चालनका लागि उपकरण खरिद भइसकेको र यो बर्ष सञ्चालनमा आउने दाबी गर्नुभयो । पहिलेको बजेट अपुग भएकाले मन्त्रालय बाट बजेट थप गरि ६० लाखमा टेण्डर मार्फत उपकरण खरिद गरिएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्