फुसको छानो हटाउने कार्यक्रम: रकम रोकिँदा लेखर्कका विपन्न परिवार समस्यामा
भोजपुर । फुसको छानो हटाउने कार्यक्रमको दोस्रो किस्ता वापतको रकम नपाउँदा यहाँस्थित टेम्केमैयुङ–९ लेखर्कका स्थानीयवासी समस्या परेका छन् ।

सम्झौता पश्चात् पहिलो किस्ताको रकम पाएका स्थानीयले अझैसम्म दोस्रो किस्ता पाएका छैनन् ।
सघन शहरी कार्यालयमार्फत रुपैयाँ ७५ हजार पाउने गरी सम्झौता गरेर छानो फेरेको भएपनि हालसम्म पनि दोस्रो किस्ताको रकम नपाएपछि थप समस्या भएको स्थानीयवासी हर्कराज विश्वकर्माले जानकारी दिनुभयो । “सम्झौता गरेर ऋण काढेर गरेर जसोतसो छानो फेरियो” उहाँले भन्नुभयो‘तर हालसम्म दोस्रो किस्ता पाएका छैनौँ । अहिले साहुले गर्दा घर नै छाड्नु पर्ने अवस्था छ । समयमा रकम पाए सहज हुने थियो । ” जस्ताको छानो लगाएको एक वर्ष बढी समय हुँदा पनि दोस्रो किस्ताको रकम नआउँदा समस्या रहेको स्थानीयवासी विश्वकर्माले गुनासो गर्नुभयो ।
सम्झौता अनुसार पहिलो किस्ता लिएपछि छानो फेरेका वडाका १२५ परिवारले हालसम्म दोस्रो किस्ता वापतको रकम नपाएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिनुभयो स्थानीयको समस्याको बारेमा आफूले मन्त्रालयसम्म पुगेर जानकारी गराएको भएपनि सुनुवाइ नभएको उहाँले बताउनुभयो । “सम्झौता पश्चात् लाभग्राही सूचीमा परेकाहरू सबैले ऋण पान गरेर छानो फेरेका छन्” उहाँले भन्नुभयो,“दोस्रो किस्ता वापतको रकम नपाउँदा गरिब तथा विपन्न परिवार समस्या भोगिरहेका छन्। मन्त्रालयमा गएर पनि जानकारी गराएको छु, । तर सुनुवाइ भएको छैन ।
लाभग्राहीले पहिलो किस्ता बापत रुपैयाँ ४५ हजार पाएको भए पनि दोस्रो किस्ता वापतको रुपैयाँ ३५ हजार अझै नपाएको उहाँको भनाइ छ । रासस
प्रतिक्रिया राख्नुहोस्