तपाईँ सुन्दै हुनुहुन्छः

पाकिस्तानमा मनसुनी वर्षाका कारण २० जनाको मृत्यु

कराची (पाकिस्तान) । पाकिस्तानमा मनसुनी वर्षाका कारण बुधबार २० जनाभन्दा बढीको मृत्यु भएको जनाइएको छ । जहाँ गत हप्ता मात्र वर्षाले  सिङ्गो गाउँ बगाउदा ४०० भन्दा बढीको मृत्यु भएको थियो ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए)का अनुसार गिलगिट–बाल्टिस्तानको  उत्तरी क्षेत्रमा ११ जना र कराचीमा १० जनाको बाढीका कारण मृत्यु भएको छ ।

मौसम विभागले शनिबार सम्म थप वर्षाको पूर्वानुमान गरेको छ भने  प्रभावित सहरमा विद्यालयहरू बन्द रहेका छन् । सिन्ध प्रान्तका प्रमुख मौसमविद् अमिर हैदर लघारीले बाढीको प्रमुख कारण कमजोर पूर्वाधार भएको बताउनुभएको छ । 

दुई जिल्लामा बर्षाका कारण ४० देखि ५० वटा घरहरू क्षतिग्रस्त भएको प्रान्तीय विपद् अधिकारी मुहम्मद युनसले बताउनुभएको छ । 

गत बिहीबार देखि अफगानिस्तानको सिमानामा रहेको पहाडी उत्तरी प्रान्त खैबर पख्तुनख्वामा ३५० जना भन्दा बढीको मृत्यु भएको छ ।अधिकारीहरू तथा सेनाले पहिरो र भारी वर्षाले प्रभावित गाउँहरूमा दर्जनौँ बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको जनाएका छन् । 

राहत शिविरहरू स्थापना गरी चिकित्सा सहायताका साथै सुक्खा राशन पनि दिइरहेका  सेनाका कर्नल इरफान अफ्रिदीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।  

यसैबीच अधिकारीहरूले सेप्टेम्बरको मध्यसम्म मनसुनी वर्षा जारी रहने चेतावनी दिएका छन् ।अधिकारीहरूका अनुसार यस वर्षाको सिजन सुरु भएदेखि बर्षाका कारण करिब ७५० जनाको मृत्यु भइसकेको छ । मनसुन बाढीले सन् २०२२ मा पाकिस्तानको एक तिहाइ भाग डुबाएको थियो, जसको परिणामस्वरूप लगभग १,७०० जनाको मृत्यु भएको थियो । रासस÷एएफपी 

प्रतिक्रिया राख्नुहोस्

Back to top button