प्रतिनिधिसभाबाट बालबालिकासम्बन्धी विधेयक (पहिलो संशोधन) स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले प्रस्तुत गर्नुभएको बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो ।
विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री सुडीले बालबालिकाकाका क्षेत्रमा देखिएका समस्या समाधानका लागि विधेयक ल्याइएको स्पष्ट पार्नुभयो ।
बालबालिका सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय मान्यतालाई ध्यान दिएर र सम्बन्धित पक्षको राय सुझाव लिएर नै विधेयक आएको बताउनुभयो ।
विधेयकमाथिको छलफलमा भाग लिँदै सांसदहरूले संविधानले प्रत्याभूत गरेका बाल अधिकारहरू व्यवहारमा कमजोर कार्यान्वयनका कारण वाञ्छित उपलब्धिहरू प्राप्त गर्न नसकिएको धारणा राख्नुभयो ।
सांसदहरूले सबै स्थानीय तहमा बालमैत्री स्थानीय शासन लागु गर्न र घोषणा भएका स्थानीय तहहरूको दिगोपनामा सहयोग र उत्प्रेरित गर्न आवश्यक रहेको भन्दै बाल संवेदनशीलतालाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी बैठकले मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक भोली दिउँसो १ बजे बस्नेछ ।
प्रतिक्रिया राख्नुहोस्