तपाईँ सुन्दै हुनुहुन्छः

खडेरीको मारमा परेका किसानहरूलाई राहत दिने विषयमा छलफल

जनकपुरधाम । नेपाल सरकारले मधेशमा पर्याप्त पानी नपरेको भन्दै सङ्कटग्रस्त प्रदेश घोषणा गरेपछि सङ्घीय कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीको नेतृत्वमा रहेको संसदीय टोलीले मधेश प्रदेश सरकारसँग आज छलफल गरेको छ ।

oplus_2

मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा आयोजित छलफलमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, मधेश प्रदेश सरकारका कृषि सचिव डा. उमेश दाहाल सहितका उच्च अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।

कृषि मन्त्रीको टोलीमा सङ्घीय संसद्का सदस्यहरू रामकृष्ण यादव, देव प्रसाद तिम्सिना, हरि प्रसाद उप्रेती र अमनलाल मोदी सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले मधेश प्रदेश सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेपछि सङ्घीय सरकारले पनि मधेश प्रदेशलाई सङ्कटग्रस्त प्रदेश घोषणा गरेकाले मधेशको वास्तविक अवस्था बुझ्नका लागि आफूहरू आएको बताउनुभयो ।

कृषि मन्त्री अधिकारीले नेपाल सरकारले मलको सहज आपूर्तिका लागि खरिद गरेको अनुदानको रासायनिक मल वास्तविक किसानको हातमा पुर्‍याउनका लागि विशेष सजगता अपनाउन प्रदेश सरकारसँग आग्रह गर्नुभयो । 

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सङ्घीय सरकारले खडेरीको मारमा परेका मधेशका किसानलाई उचित राहत दिन चाँडो भन्दा चाँडो राहत प्याकेज घोषणा गर्न आग्रह गर्नुभयो । उहाँले उखुमा किसानलाई दिँदै आएको अनुदानलाई निरन्तरता दिन र रासायनिक मलको सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।  

कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दाहालले मधेशको समग्र कृषि तथा पशुपक्षी पालनको अवस्थाका विषयमा जानकारी दिनुभएको थियो ।

मन्त्री अधिकारी सहितको टोलीले धनुषाको बनिनिया स्थित धानबाली अनुसन्धान केन्द्र तथा नक्टाझिझ स्थित कृषि फर्मको स्थलगत अनुगमन पनि गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button